PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कांग्रेस अझै छलफलमै : मन्त्री खाणले सोधे- अख्तियारमा पनि कम्युनिस्ट ल्याउने योजना भए रोक्ने को?



रमेश वाग्ले

कांग्रेस अझै छलफलमै : मन्त्री खाणले सोधे- अख्तियारमा पनि कम्युनिस्ट ल्याउने योजना भए रोक्ने को?

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि लम्बिएको छ। गत बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज पनि २१ केन्द्रीय सदस्य बोलेपछि भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो। 

आजको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरु बलबहादुर के.सी., बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, चन्द्र भण्डारी, अजयकुमार चौरसिया, धनराज गुरुङ, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, ईश्वरी न्यौपाने, पार्वता डी.सी. चौधरी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, बीरबहादुर बलायर, डा. डिला संग्रौला, सरिता प्रसाई, बहादुरसिंह लामा र लक्ष्मी परियारले आ–आफ्नो धारणा राखेका थिए। 

अधिकांशले अख्तियार बलियो हुनुपर्नेमा लोकमानसिंह कार्की अधिनायक भएको कारण कारबाही आवश्यक भए पनि सत्ता साझेदार दल माओवादी केन्द्रले कांग्रेसलाई लुकाएर एमालेसँग गरेको गठबन्धन शंकास्पद भएको बताए।
 

का‌ंग्रेससित किन लुकाइयो? : ईश्वरी न्यौपाने

'कांग्रेसकै सांसद राधेश्याम अधिकारीले पहिलोपटक लोकमानलाई महाअभियोग लगाउने विषय संसदमा भित्राउनुभएको हो, कांग्रेसकै सांसद्हरुले लोकमानलाई छानबिन गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको थियो,' कांग्रेस संसदीय दलको सचेतक समेत रहेकी ईश्वरी न्यौपानेले भनिन्, 'कांग्रेस पक्षमा छ भनेर थाहा भएको र कांग्रेससँग एकतिहाई भन्दा बढी मत छ भनेर थाहा हुँदाहुँदै किन लुकाएर प्रस्ताव दर्ता भयो?'

उनले यो लोकमानलाई कार्वाही गर्ने भन्दा पनि सत्ता गठबन्धन भत्काउने र लोकमानलाई पनि आफ्नो पोल्टामा पारेर काम लगाउने नियतबाट निर्माण भएको एउटा प्रोपोगाण्डा मात्र भएको बताइन्।
 
उनले संसद अधिवेसन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले गरेको ढिलाई यसकै लागि भएको भन्दै प्रधानमन्त्रीले थाहा थिएन भनेर स्वाङ मात्र परेको बताइन्।

'मान्छेले नजानेर गरेको गल्तिमा क्षमा हुन्छ तर जानी जानी गरेको गल्तिमा क्षमा दिन सकिदैन,लोकमान केसमा माओवादी र एमालेले जानी जानी कांग्रेसलाई छलेका छन्,' उनले भनिन्, 'हामी महाअभियोग प्रस्तावको पक्षमा रहने हो तर यो कुरा पहिला क्लियर गर्न जरुरी छ।'

उनले अहिले लोकमानलाई लागेका आरोपमा संसदीय छानबिन हुने भन्दै त्यसअघि नै सर्वोच्चको फैसला भए संसद्को प्रक्रियाको अर्थ नरहने बताइन्। 

हतारमा निर्णय नगरौँ : गुरुराज घिमिरे

केन्द्रीय सदस्य गुरुराज घिमिरेले हिजो ल्याउन नहुने मान्छे ल्याएर कांग्रेसलाई नै बदनाम गरानउ खोजिएको भन्दै आज त्यही माओवादीले कांग्रेससँग सत्ता साझेदारको सामान्य नैतिकतासमेत नदेखाएको बताए।

'सहयात्री दलले किन छल्नुपर्‍यो कांग्रेसलाई, त्यसबरे पहिला स्पष्ट हौँ। त्यसपछि मात्र महाअभियोगमा आफनो निर्णय गरौँला' घिमिरेले भने, 'हैन भने एमाले-माओवादीको सतिमात्र जानका लागि हतारमा निर्णय गर्न हुँदैन।'

उनले लोकमान कारबाही एमाले-माओवादीका लागि भन्दा कांग्रेसका लागि आवश्यक भन्दै उचित विश्लेषणपछि कार्वाही प्रक्रियामा अघि बढ्नुपर्ने बताए। 

अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले गलत प्रवृतिलाई अन्त्य गर्न आवस्यक भएको भन्दै अहिले सत्ता साझेदार माओवादीले नै अर्को गलत प्रवृतिको सुरुवात गरेको बताए।

अख्तियारमा पनि कम्युनिस्ट ल्याए कसले रोक्ने? : मन्त्री खाण

रक्षामन्त्री समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणले कारवाही गर्ने विषयमा दुईमत नभए पनि पहिला सत्ता साझेदारसँग स्पष्ट हुनुपर्ने बताए।

'लोकमानविरुद्ध महाअभियोग प्रस्ताव आइसकेकाले उनलाई कारवाही अघि बढाउने विषयमा दुईमत भएन,' खाणले भने, 'त्यसो गर्दैगर्दा उनलाई हटाएर ल्याउने मान्छे उनीभन्दा पनि खराब नहोस् भनेर सचेत हुन आवस्यक छ।'

उनले राष्ट्रपतिदेखि प्रधानमन्त्री,सभामुख सबै कम्युनिष्ट भएको भन्दै त्यस निकायमा पनि कम्युनिष्ट ल्याउने योजना भए कस्ले रोक्ने भन्दै प्रश्न गरे। 

केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेका लागि डाकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell