
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बने त्यो आफूहरुलाई मान्य नहुने बताएका छन्।
सहमति अनुसार छठसम्म संविधान संशोधन विधेयक नआए नयां जनक्रान्ति सहित जनआन्दोलनमा जाने चेतावनी उनले दिए।
मंगलवार प्रेस फोरम धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीन बुँदे सहमति अनुसार सरकारले आफूको मुद्दा सम्बोधन हुने गरी संशोधन विधेयक नल्याए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्।
अध्यक्ष यादवले लोकमानमाथि लगाइएको महाअभियोगको कारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकोले आफ्नो विषयको कुरा नरहेको बताए।
‘महाअभियोग लगाउनेहरु नै लोकमानलाई नियुक्त गरेका हुन, आखिर अहिले महाअभियोग किन लगाइँदै छ, त्यो स्पष्ट हुनु पर्यो', यादवले भने।
अध्यक्ष यादवले स्वायत शासन प्रादेशिक संरचना सहितको श्रोत साधनमा समानुपातिक समावेशी ढंगबाट सहभागिता हुने लगायतका संविधानमा भएको विभेद अन्त्य नभएसम्म आफूहरुलाई यो संविधान कुनैपनि हालतमा मान्य नहुने भन्दै अधिकार प्राप्ति नभएसम्म संघर्ष जारी रहने बताए।