
लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको वर्चस्वलाई समाप्त पार्दै एथ्लेटिको मड्रिडका फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजमन ला लिगाको उत्कृष्ट खेलाडी बनेका छन्।
सोमबार ला लिगाको वार्षिक अवार्ड समारोहमा ग्रिज्मनले पहिलो पटक अवार्ड जित्ने क्रममा मेसी र रोनाल्डोको अधिपत्य तोडे। 'फ्यान्स फाइभ स्टार प्लेअर'को अवार्ड पनि ग्रिज्मनले नै जिते।
यस्तै अवार्ड समारोहमा एथ्लेटिको मड्रिडका खेलाडीले कुल ४ अवार्ड जित्यो। एथ्लेटिकोका प्रशिक्षयक डियगो सिमोनीले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे भने गोलरक्षक जोन ओब्लाक तथा डिफेन्डर डिएगो गोडिनले पनि उत्कृष्टको अवार्ड पाए।
यस्तै उत्कृष्ट फरवार्डको अवार्ड भने बार्सिलोनाका मेसीले जिते। मेसीले उत्कृष्ट फरवार्डको अवार्ड जितेको यो सातौ पटक हो। २०१३/१४ को सिजनमा मात्र रोनाल्डोले उत्कृष्ट फरवार्डको अवार्ड जितेका थिए।
रियल मड्रिडका लुका मोडरिकले उत्कृष्ट मिडफिल्डरको अवार्ड जिते। यस्तै ला लिगा वल्र्ड प्लेअर अफ दि इअरको अवार्ड बार्सिलोनाकै लुइस स्वारेजले जिते।
सन् २००८/०९ को सिजनबाट प्रदान गर्न सुरु गरिएको अवार्ड मेसीले सर्वाधिक ६ पटक जितेका छन्। २०१३/१४ को सिजनमा भने क्रिस्टियानो रोनाल्डोले यस अवार्ड जितेका थिए।
मार्को असेन्सियोले बेष्ट न्युकमरको अवार्ड जितेका छन्।