काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आगामी एक वर्षे कार्यकालको लागि अध्यक्ष पदको चुनावी प्रतिस्पर्धामा नरेन्द्रलाल श्रेष्ठसँग पराजित भएका कर्माछिरिङ शेर्पाले १५ औं साधारण सभाबाट आफूलाई ठूलो ऊर्जा प्राप्त भएको बताएका छन्।
सोमबार भएको चुनावमा श्रेष्ठसँग ५ मत अन्तरले हारेका शेर्पाले मंगलबार बिहान आफ्नो फेसबुक पेजमा यस्तो लेखेका हुन्। उनले लेखेका छन्, 'यसले ऊर्जा मिल्नुका साथै अझै व्यवस्थित र सशक्त रुपमा नेपाली फुटबलमा लाग्न प्रतिबद्ध्ता जनाउँछु।'
साथै उनले नेपाली फुटबलको विकास र उन्नतिका लागि हामी सबै सँधै र सदाका लागि इमान्दार, निष्ठा र हृदयदेखि नै प्रतिबद्ध भएर आजै लागे असम्भव भन्ने केही नभएको बताएका छन्।
१५ औं साधारण सभाबाट विजयी भएका पदाधिकारी बधाई तथा शुभकामना दिँदै साधारण सभामा सहभागी सबैलाई धन्यवाद दिएका छन्।
दुई दशकभन्दा बढी समय एन्फाको अधयक्ष रहेका गणेश थापालाई फिफाले भ्रष्टाचार काण्डमा दश वर्ष प्रतिबन्ध लगाएपछि पहिलो पटक भएको निर्वाचनमा नरेन्द्र श्रेष्ठ ३६ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
तीन वर्षअघि गणेश थापाले एकलौटी रुपमा एन्फा चलाएको र आर्थिक अनियमितता गर्दै भ्रष्टचार गरेको भन्दै शुद्धिकरण अभियान थालेका कर्माले चुनावमा हारे पनि आफ्नो एजेण्डा लागू गर्न निरन्तर लागिरहेका बताएका छन्।