PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

​संसदमा प्रस्तुत भयो लोकमानलाई महाभियोग लगाउनु पर्ने नौ कारण



मनोज सत्याल

​संसदमा प्रस्तुत भयो लोकमानलाई महाभियोग लगाउनु पर्ने नौ कारण

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउनुका ९ कारण प्रस्तावकहरुले संसदमा प्रस्तुत गरेका छन्। 

संसदमा महाभियोगका प्रस्तावक महेन्द्रबहादुर शाहीले कार्कीले अख्तियारलाई आफ्नो पारिवारिक र व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने माध्यम बनाउँदै विधि र संवैधानिक भूमिकालाई बिर्सेर भ्रष्टाचारजन्य क्रियाकलापलाई संस्थागत गर्ने काम गरेको आरोप लगाए। 

उनले कार्कीले राज्यको संयन्त्रलाई आतङ्कित गर्ने र कानुन हातमा लिएर उदण्ड ढंगले प्रस्तुत हुने गरेकाले उनीविरुद्ध महाभियोग प्रस्ताव तयार गरिएको उल्लेख गरे। 

यी हुन् शाहीले संसदमा दिएका नौ कारण


१) संसदले बोलाउँदा अन्तिम समयमा डाक्टरले नबोल्न भनेको छ भनी पत्र पठाएर अनुपस्थित हुने तर त्यही समयमा एक निजी टेलिभिजनमा पत्रकारसँग भलाकुसारी गरेको दृश्य सार्वजनिक गरी सार्वभौम संस्थाको अवहेलना गरेको र सम्बन्धित समितिमा अटेर र अवहेलना गरी सार्वभौम संसदलाई चुनौति दिएको। 

२) न्यायपालिकाबाट जारी म्याद तामेली गर्न जाँदा भिजिलान्ते प्रयोग गरी हुल जफत गर्ने र न्याय प्रशासनमा व्यवधान सिर्जना गर्ने र न्यायिक संस्थामा अनुचित विलम्व गरी न्यायालयको अवहेलना जस्ता जघन्य कार्य गरेको। 

३) आफ्नो नजिक र नातागोता पर्ने व्यक्तिलाई भ्रष्टाचारको मुद्दामा प्राकृतिक न्यायको सिद्धान्त र मुलुकी ऐनको अदालती बन्दोबस्तीको ३० नम्बर अनुसार विपरीत तामेलीमा राखिदिएको। 

४) आफ्नो नाताको व्यक्तिले लगानी गरेको किस्ट मेडिकल कलेजमा क्षमताभन्दा बढी संख्यामा एमबिबिएस भर्ना कोटा बढाउन नेपाल मेडिकल काउन्सिललाई दबाब दिई अख्तियारको दुरुपयोग गरेको र काठमाडौँ विश्वविद्यालयको एमबिबिएसको परीक्षामा अनावश्यक हस्तक्षेप गरेको। 

५) कानुनको ठाडो उल्लंघन गर्दै अख्तियारी बेगर दलका नेता सुरक्षा अंगका प्रमुखहरुको गुप्तचरी गर्ने, कल डिटेल बुझ्ने, फोन ट्यापिङ गर्ने जस्ता गतिविधि गरी राज्यविरोधी जासुसी गर्ने जस्ता गतिविधि गर्ने कार्यमा संलग्न रही राज्यविरोधी कसुरमा संलग्न रहेको। 

६) काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायतका धेरै निकायहरुमा भएका अनियमितता सम्बन्धि उजुरीहरु अपारदर्शी ढंगले तामेलीमा राखेको। 

७) अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र छुट्टै र गोप्य संयन्त्र खडा गरी अन्य आयुक्तहरुलाई निर्णय प्रक्रियामा सामेल नगराई अपारदर्शी र एकलकाटे ढंगले कार्य सञ्चालन गरेको। 

८) कसैले गल्ति अनियमितता र भ्रष्टाचार गरेको/नगरेको रखवारी गर्ने भूमिका निर्वाह गर्नुपर्नेमा पद र शक्तिको दुरुपयोग गरी आफै कार्यकारी शक्ति भएझैँ राज्यको कार्यकारी शक्तिमा अधिग्रहण गरी प्रहरी प्रशासन र गुप्तचरी संस्थालाई आफू अनुकूल चल्न र निर्णय गर्न बाध्य पारी अख्तियारको दुरुपयोग गरेको। 

९) भ्रष्टाचारजन्य क्रियाकलापको गम्भीर अनुसन्धान गरी प्रमाणको आधारमा मुद्दा दायर गर्ने संवैधानिक आधार हुँदाहुँदै सो नगरी उल्टै पत्रकार सम्मेलन गरी अनुसन्धान गर्दछौँ भन्ने प्रचार गर्दै व्यक्तिलाई बदनाम गर्ने गरेको । 

मंगलबारदेखि संसदमा महाभियोगमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। सभामुख ओनसरी घर्तीले छलफलका लागि हरेक सांसदलाई ५ मिनेटको समय निर्धारण गरेकी छिन्। गत बुधबार १ सय ५७ सांसदले महाभियोग प्रस्ताव संसदमा दर्ता गरेका थिए।

छलफल सकिएपछि संविधानको व्यवस्था अनुसार प्रस्ताव महाभियोग सिफारिश समितिमा जान्छ। सिफारिश समितिले छानबिन गरी महाभियोग लगाउन उपयुक्त भएको प्रतिवेदन दिएमात्र संसदमा यसबारे मतदान हुन्छ। मतदानमा दुई तिहाई मत महाभियोगको पक्षमा गए अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त हुनेछन्। प्रस्ताव दर्ता भई महाभियोग प्रक्रिया सुरु भइसकेपछि भने त्यसको टुङ्गो नलागेसम्म उनी निलम्बित छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell