PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

​संसदमा लोकमानविरुद्धको महाभियोग छलफल : रोचक ९ दृश्य



मनोज सत्याल

​संसदमा लोकमानविरुद्धको महाभियोग छलफल : रोचक ९ दृश्य

काठमाडौँ : संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथि मंगलबारदेखि छलफल सुरु भयो। 

१ सय ५७ सांसदले हस्ताक्षर गरी संसदमा दर्ता गराएको महाभियोग प्रस्तावमा कतिपय दलहरुले समर्थन गर्ने वा नगर्ने अझै टुङ्गो गरेका छैनन्। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत संसदीय दलमा छलफल गरेर मात्र निर्णय लिने जनाएको छ।

छलफलमा देखिएका नौ रोचक दृश्य-

१)    प्रस्तावकको लिखित भाषण, सम्झिए झापा विद्रोह

लोकमानसिंह कार्कीलाइ महाभियोग लगाउने प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले संसदमा लिखित भाषण गरे। उनले महाभियोग लगाउनु पर्ने नौ कारण दिए। साथै लोकमानले गणतन्त्र संस्थागत गर्न चुनौति थपेको जिकिर गरे। लिखित भाषण पढ्ने क्रममा कयौँ पटक शाही अकमकिए। प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर महाभियोग दर्ता गरेका शाहीले जनआन्दोलन, जनयुद्धसँगै झापा विद्रोहको समेत नाम लिए। झापा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो भने। झापा विद्रोहका एक नेतृत्वकर्ता ओली हुन्। 

२)    समर्थक भानुभक्तको फकाउने प्रयास

महाभियोग प्रस्तावका समर्थक एमाले सचेतक भानुभक्त ढकालले कांग्रेसलाई समर्थनमा ल्याउन फकाउने भरपूर प्रयास गरे। उनले महाभियोग प्रस्ताव गगन थापा, धनराज गुरुङ र राधेश्याम अधिकारीहरुले उठाएको विषय भएको उल्लेख गरे। उनले सत्ता समिकरणमा अहिलेको महाभियोगको विषयले कुनै असर नगर्ने दावी गरे। कांग्रेसले एमाले र माओवादी केन्द्र मिलेर अचानक दर्ता भएको प्रस्ताव माथि शंका गर्दै आएको छ। 'यसलाई साझा संकल्प प्रस्तावको रुपमा लिउँ', उनले भने, 'सत्ता समिकरणको विषय सतहमा नछचल्किएको होइन, तर सत्ता समिकरणको कुनै साइनो छैन।'

३)    गगनको भाषणमा एमालेको ताली

संसदको रोष्टममा उक्लिएर स्वास्थ्य मन्त्री समेत रहेका कांग्रेस सांसद गगन थापाले लोकमानमाथिको महाभियोग प्रस्ताव पारित गर्न आग्रह गरे। उनको आग्रहसँगै एमाले सांसदहरुले टेबल ठटाएर स्वागत गरे। तर थापाले प्रस्ताव दर्ता अचानक भएको र त्यसमा षड्यन्त्रको प्रश्न उठेको भएपनि आफू त्यता प्रवेश नगर्ने भन्दै विषय मोडे। थापाले विगतमा कांग्रेसका २३ केन्द्रीय सदस्यले तत्कालीन पार्टी सभापति सुशील कोइराला र राष्ट्रपति रामवरण यादवलाई भेटेर लोकमानलाई नियुक्त नगर्न आग्रह गर्दा 'हुन्छ' भनेको तर नियुक्त भएको प्रसङ्ग कोट्याए। अनि गम्भीर प्रश्न गरे – हामीले गएर सोध्यौँ। उहाँहरुले भन्नुभयो हामी हार्‍यौँ। हामीले रोक्न सकेनौँ। हाम्रो प्रश्न हिजो पनि त्यही थियो र आज पनि त्यही छ । हामीले हारेको को सँग हो? हामीले नसकेको कोसँग हो? यहाँ प्रश्न एउटा आयुक्तमाथिको महाभियोगको होइन। यहाँ प्रश्न स्वाभिमानको हो। मर्यादाको हो। निर्णय गर्ने हामी अधिकार राख्छौँ कि राख्दैनौँ भन्ने हो। त्यसकारण म यो प्रस्तावको समर्थन गर्दुछ।'

४)    कसैले केही बोल्नै नहुने, पूर्जी आइहाल्ने

नेकपा एमालेका सांसद रविन्द्र अधिकारीले भने महाभियोग लगाउनुको कारणबारे नै धेरै समय खर्चिए। उनले विगतदेखि नै अख्तियार प्रमुखले अख्तियारीको दुरुपयोग गरेको भन्दै पोखरा विश्वविद्यालयका उपकुलपतिदेखि खरिदारसम्मलाई विगतमा मुद्दा चलाइएको प्रसङ्ग उप्काए। साथै उनले लोकमानविरुद्ध बोल्ने व्यक्तिमाथि पूर्जी आइहाल्ने प्रवृति भएको समेत सुनाए। उनले कार्कीलाई हटाउन महाभियोग भन्दा अर्को विकल्प नै नरहेको उल्लेख गर्दै फैसला गर्नुपर्ने तर्क गरे। 

५)     पशुपतिनाथको सम्झना

राप्रपा नेपालकी सांसद कुन्तिकुमारी शाही लोकमानसिंह कार्कीको महाभियोगको विषयमा प्रवेश नै गरिनन्। उनले विगतमा कस्तो व्यक्ति नियुक्ति गरियो र कसरी गरियो भन्ने प्रश्न खडा गरिन्। उनले नेपाल सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको उल्लेख गर्दै संवैधानिक निकायमा नियुक्ति गर्दा हाम्रो नभई राम्रो र सक्षम मानिस नियुक्ति गर्नपर्ने आवश्यकता औँल्याइन्। साथै उनले पशुपतिनाथले सबैलाई सत्मार्गमा लैजाने र सदबुद्धि दिने अपेक्षा व्यक्त गरिन्। सांसदहरुको हाँसोका लागि उनको अपेक्षा काफी भयो। बैठकमा हाँसो फैलियो। 


६)    संविधान संशोधनमा पनि चासो

फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भने महाभियोगको विषयमा दलहरु एक ठाउँमा आउँदा संविधान संशोधनको विषयमा समेत एक ठाउँमा आउने अपेक्षा व्यक्त गरे। उनले सहमतिको राजनीति अगाडि बढ्ने अपेक्षा व्यक्त गर्दै छठ अघि संविधान संशोधन विधेयक आउने आशा जनाए। उनले महाभियोग प्रस्तावबाट आफू खुसी भएको बताए। तर पार्टीले निर्णय लिन बाँकी रहेको सुनाए।

७)    अनुराधाले लिइन् भारतको नाम

नेमकिपाकी सांसद अनुराधा थापामगरले भारतले नेपालमा नाकाबन्दी गर्दा लोकमानसिंह कार्कीले अख्तियारबाट ठूला माछा भनिएकाहरुलाई कारवाही सुरु गर्ने प्रचार गरेको तर पछि दिवाभोजमा सबैलाई बोलाएपछि ठूलो माछाको विषय सेलाएको चर्चा चलेको प्रसङ्ग उप्काइन्। उनले 'भ्रष्ट्राचारीहरु माथि कारवाहीको निर्णय समेत भारतमा हातमा पुगेको पुष्टि भएको ' बताइन्। 

८)    श्री ५ फाल्यौँ, अख्तियार प्रमुख श्री ६ हुन खोजे

कांग्रेसका सांसद रामहरी खतिवडाले पनि लोकमानसिंह कार्की माथि महाभियोग प्रस्तावको पक्षमा संसदमा धारणा राखे। उनले दलहरुले श्री ५ फाले पनि अख्तियार प्रमुख लोकमानसिंह कार्की श्री ६ बन्न खोजेको टिप्पणी गरे। 'कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका नै उहाँले चलाउन खोज्नुभयो', खतिवडाले भने। उनले छापामार शैलीमा महाभियोग ल्याएको उल्लेख गर्दै बमको रुपमा कांग्रेसले जवाफ नदिने बरु पारित गर्ने बताए।






९)    संसद बैठक १५ दिन स्थगित

महाभियोग प्रस्ताव दर्ता भएको सातौँ दिनमा छलफल सुरु भएको पहिलो दिन नै सभामुख ओनसरी घर्तीले संसद बैठक एकैचोटी १५ दिनका लागि स्थगित गर्दा सांसदहरु अचम्मित भए। कतिपय सांसदहरु नै किन यति टाढा पुर्‍याएको हो भन्ने जिज्ञासाका साथ संसद बैठकबाट बाहिरिएका थिए। तर पछि दलहरुसँग सल्लाहमै पर्वको बिदा र अदालतसँगको 'टाइअप'का लागि बैठक स्थगित भएको खुलेको थियो। संसदको अर्को बैठक आउँदो कात्तिक २५ गते २ बजेका लागि डाकिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell