
भीमदत्तनगर : ‘बाघको संरक्षण गरौँ, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ' भन्ने मूल नाराका साथ मङ्गलबारदेखि कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा प्रथम बाघ महोत्सव-२०७३ सुरु भएको छ।
बाघ संरक्षणका लागि सचेतना फैलाउनका शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गरे।
महोत्सव आयोजनाले स्थानीयस्तरमा बाघ संरक्षणका साथै बासस्थानको विस्तार तथा वन्यजन्तु चोरी–सिकार नियन्त्रण लगायत विषयमा जनचेतना दिने उद्देश्य राखेको छ।
तीनदिने महोत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ। मुलुकमै थोरै क्षेत्रफलमा बढी बाघको सङ्ख्या रहेको आरक्षका रुपमा परिचित शुक्लाफाँटा आरक्ष अन्तर्गतका विभिन्न मध्यवर्ती उपभोक्ता समितिको सक्रियताले वन्यजन्तुको संरक्षणमा थप टेवा पुगेको छ। महोत्सव कात्तिक १२ गतेसम्म चल्नेछ। रासस