काठमाडौं : रेडबुल फुटसल लिग अन्तर्गत बुधबार भएका खेलमा रजनी फुटसलले जित हासिल गरेको छ भने हाइवे र बीजी ब्रदर्श फुटसलले बराबरी खेलेका छन्।
समूह ए को खेलमा रजनी फुटसलले आदर्श फुटसललाई ७–२ गोल अन्तरले पराजित गरेको छ। आदर्श फुटसलको होम ग्राउन्डमा भएको खेलमा रजनी फुटसलका लागि रुसन केसी एक्लैले ५ गोल गरे भने म्यान अफ द म्याच घोषित सुमन कार्कीले २ गोल गरे। आदर्श फुटसलका अविरल रिजाल र संमजय बानियाँले १/१ गोल फर्काए।
हाइवे फुटसलको होम ग्राउन्डमा भएको खेलमा हाइवेले अवे टिम बीजी ब्रदर्शसंग २–२ गोलको बराबरी खेल्यो। हाइवेका लागि विज्ञान कटवाल र रमेश घिसिङले १/१ गोल गरे भने बीजी ब्रदर्शका सुमन गुरुङ र आकाश लामाले १/१ गोल गरे। यस खेलको म्यान अफ द म्याचको उपाधि हाइवे फुटसलका विज्ञान कटवाल भए।
नेपाली फुटसल इतिहासकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिगको समूह ए मा किकअफ फुटसल १२ अंक सहित शीर्ष स्थानमा छ भने ताहाचल फुटसल समूह बी को शीर्ष स्थान रहेको छ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ।