PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

​बीपीका नाति सिद्धार्थ तरुण दलको नेतृत्व सम्हाल्न तम्सिँदै



रमेश वाग्ले

​बीपीका नाति सिद्धार्थ तरुण दलको नेतृत्व सम्हाल्न तम्सिँदै

काठमाडौँ : नेपाली कांग्रेसको स्थापना र नेपाली कांग्रेसको आइडियोलोजी निर्माता विश्वेश्वरप्रसाद कोइरालाको भौतिक उपस्थिति नभएको करिब ३५ वर्ष भइसक्दा पनि नेपाली राजनीतिमा उनीसँग तुलना गर्ने अर्को पात्र भेटिएको छैन। उनीपछि कोइराला परिवारको राजनीतिलाई लिएर भने वैचारिक भन्दा पनि बाइलोजिकल जिनले नेतृत्वमा दावी गरेको आरोप नआएका हैनन्। उनै बीपीका पुत्र शशांक महामन्त्री निर्वाचित भएर कांग्रेसको राजनीति गरिरहेका छन् भने बीपीका नाति सिद्धार्थ कांग्रेसी तरुणहरुको संगठन नेपाल तरुण दलको नेतृत्वका लागि तम्सिएका छन्। 

तरुण दलको नेतृत्वका लागि कस्सिएका उनी राजनीतिमा युवा पुस्ता तान्न नेतृत्व वर्गले दोहोरो चरित्रमा सुधार आवश्यक देख्छन्। उनले युवा पुस्तालाई राजनीतिमा आकर्षण गर्न भाषण र मीठा कुराले नहुने भन्दै गरेरै देखाउन आवश्यक भएको पनि बताए। 

आजको विद्यार्थी पुस्ता 'आइ हेट पोलिटिक्स भन्छ, पोलिटिक्स इज डर्टी गेम' भन्छ। त्यस्तो पुस्तालाई कसरी आसा जगाउने? 

सिद्धार्थ भन्छन्, 'पोलिटिक्स इज नट अ डर्टी गेम इट्स फिल्ड विद् डर्टी पिपुल, तपाई नै सक्षम हुनुहुन्न भने राजनीति कसरी सफल हुन्छ? त्यसकारण राम्रा मान्छेहरु राजनीतिमा आउन पर्योप' उनले भने, 'राम्रो मान्छेलाई जनताले जिताउनु पनि पर्योर,यो जनताको हक मात्र हैन जिम्मेवारी पनि हो।' 

पैसा र पदको लेनदेनमा भोट प्रभावित हुन्छ भने त गुनासो गर्ने नैतिक अधिकार पनि कमजोर हुने उनले बताए। 

तरुण दलको नेतृत्व दावी गरिरहेका भए पनि उनले अध्यक्ष वा अरु नै पदमा उम्मेद्वारी दिने भने सार्वजनिक गरेका छैनन्। 'मेरो दावी पदाधिकारीमा नै भनेको छु। तर कुन पदमा भन्ने कुरा पछि मात्र टुंगो लाग्छ,' उनले भने। 

नेपाली कांग्रेस गुटको राजनीतिमा जकडिएको छ। तर उनी चुनावी प्यानल बाध्यात्मक भए पनि कुनै गुटको राजनीतिबाट माथि उठ्ने बताउँछन्। 'मैले सानो छँदा देखेको कांग्रेस बलियो कांग्रेस थियो, अहिलेको कांग्रेस विखण्डनको कांग्रेस छ। म सिंगो कांग्रेस हेर्न चाहन्छु, त्यसैले युनाइटेड कांग्रेस मेरो चाहना हो,' उनले भने।  

नेपाल तरुण दलको नेतृत्वका लागि कस्सिरहेका सिद्धार्थ असहयोगका लागि विरोध गर्नेहरु नै आफ्ना प्रमुख सहयोगी भएको मान्छन्। 'किनभने उहाँहरु आफ्नो उद्देश्यले लाग्नुभएको छ, असहयोग वा विरोधका लागि पनि मेरै नाउ अघि सार्नुहुन्छ,' उनले भने, 'त्यसैले मैले नसकेको प्रचार उहाँहरुले नै गरिदिँदै हुनुहुन्छ।'  


पोलिटिक्सलाई करियर मान्दिन

धेरै मानिसहरु करियर बनाउनकै लागि विदेशिन्छन्। तर विदेशमै पढेर स्वदेश फर्किएका सिद्धार्थ आफूले विदेशमा करियर बनाएको भन्दै अब करियरका लागि भन्दा पनि देशलाई केही गर्छु भनेर देशमै आएर राजनीतिमा लगेको बताए। 

'मैले जे जति करियर बनाएर विदेशमै बनाएँ। म नेपालमा करियर बनाउन आएको हैन' उनले भने, 'म राजनीतिलाई करियर भन्दा पनि समाजलाई केही दिनका लागि राजनीति हो भन्ने ठान्छु। करियर आफ्ना लागि हो तर राजनीति अरुका लागि समाजका लागि देशका लागि हो।' 

नेपालमा त राजनीति ठूलो करियरको क्षेत्र हो जहाँ बिना लगानी अर्बौ कमाउन सकिन्छ नि भन्ने प्रश्नमा उनले अविकसित र विकृत राजनीति भएका सबै देशको हालत यस्तै भएको बताए। कसरी सुधार्ने त यसलाई ? सिद्धार्थ भन्छन्, 'सबैभन्दा पहिले त राजनीति मोरलको हुनु पर्यो। यी कुराहरुलाई हामीले बुझ्न र बुझाउन आवस्यक छ।' 

नेपाली कांग्रेसमा नैतिकताको मियो मानिने बीपी कोइराला नै हुन्। उनका नाति सिद्धार्थ त्यो नैतिकताको राजनीति फिर्ता गराउन सक्छु भन्ने विश्वासमा व्यक्त गर्छन्। 

'बीपी विचार भनेको नेपाली राजनीतिका लागि युनिभर्सल हो, कोही पनि राजनीतिमा लाग्छन् भने उनीहरुले बीपीलाई छोड्न सक्दैनन्' उनले भने,  'किनभने उहाँले जे कुरा भन्नुभएको छ त्यो कुराहरु नेपालका लागि फण्डामेन्टल फ्याक्ट्स हुन्।'

हिजो बीपीले भनेका 'एक हल गोरु, एउटा दुहुनो गाई बस्नका लागि सानै भए पनि घर र छोराछोरी पुग्ने खाद्यान्न उत्पादनको क्षमता र उनीहरुलाई शिक्षा दिन सक्ने क्षमता सबै जनतामा विकास गर्नु नेपालको सन्दर्भमा समाजवाद भनेका थिए। त्यो कुरा अहिलेको नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक ठान्छन् सिद्धार्थ। 

'बीपीले एक हल गोरु, एउटा दुहुनु गाई भनेको कुरा कतिपयले ट्याक्टर आइसक्यो भनेर पनि टिप्पणी गर्छन्। तर उहाँले कृषकको कुरा गर्नुभएको हो। सबै जनताको जीविकाको कुरा गर्नुभएको हो,' सिद्धार्थ भन्छन्, 'हाम्रो समाज अहिले पनि कृषिमा आधारित समाज नै हो।' 

 उनले 'त्यतिबेला नेपालले जे उत्पादन गर्थ्यो त्यसमा नै निर्भर थियो,  तर अहिले हामी खाद्यान्न मात्र पनि धेरै आयात गर्छौ।' उनले भने, 'हामीले हाम्रोलागी मात्र उत्पादन गर्न सक्यौ भने पनि धेरै कुरा हुन सक्छ, आयात रोकिन्छ।' 

उनले बीपीका सपना धेरै पूरा नै नभएको भन्दै त्यसलाई पूरा गर्न नैतिकताको राजनीति फिर्ता गराउनुपर्ने बताए। 

'म बीपीको समाजवादको व्याख्यात म गर्दिन तर बीपीले जुन समपना देख्नु भएको थियो, जस्तो नेपालको परिकल्पना गर्नुभएको थियो त्यो २० प्रतिशत पनि अहिलेसम्म भएको छैन,' उनले भने, 'त्यसलाई अझै अगाडि लैजानु छ। कृषिलाई अपग्रेडिङ गर्न थाल्नुपर्छ। दुनियाका अविकसित राष्ट्र नै किन नहुन उनीहरुले कृषिमा गरेको आधुनिक प्रयोग र प्रविधिलाई नेपालमा भित्र्याउनुपर्छ। कृषकहरुलाई नैं महत्व दिनुपर्छ।' 

विदेशिनेलाई रोक्ने हैन फर्काउने योजना आवश्यक

विदेशमै पढेर आएका सिद्धार्थ विदेशिनेहरुलाई रोक्ने भन्ने विषयमा सहमत छैनन्। 'त्यसरी गएका युवालाई बाहिर गएर सीप हासिल गरेपछि नेपाल फर्काउने योजना आवस्यक छ।' सिद्धार्थ भन्छन्, 'उनीहरु जति प्रगति गरे पनि स्वदेश फर्कन चाहन्छन्, किनभने उनीहरु त्यहाँ पहिलो दर्जाको नागरिक हुनै पाउँदैनन्। उनीहरुलाई सीपसहित स्वदेश फर्काएर उनीहरुको सीप र लगानी उपयोग गर्न सकिन्छ।' 

आजका बच्चाहरुले राम्रो शिक्षा हासिल गरिरहेको भन्दै उनीहरुलाई समेत यही राख्नका लागि आधार तयार नभइसकेको बताए । 'हामीले आजका बच्चाहरुलाई राम्रो पढाइ दिए पनि अहिले नेपालमै अवसर दिन सकेका छैनौ। जबसम्म विकल्प हुँदैन, उनीहरु बाहिर जान्छन् नै। सरकारले र निजी क्षेत्रले जब काम दिन सक्छ उनीहरु यहीँ बसिहाल्छन् नि।' 

उनले नेपालमै बसेर १५/२० हजार कमाउन सक्ने अवस्था भए ३० हजार कमाउन विदेश कोही नजाने र गएका पनि लामो समय नबसी फर्कने दावी गरे।  'मुख्य समस्या भनेकै नेपालले मुख्य 'पोटेन्सियल'हरुलाई प्रयोग गर्न नसकेको हो, उनको ठहर छ। 

उनलाई किन भोट हाल्ने त? उनले तरुण दलमा जान प्रतिनिधिहरुले योग्य मध्येमा छान्ने भन्दै त्यसका लागि आफ्नो छुट्टै मुद्धा केही नभएको बताए। उनले तरुण दलमा गफ दिएर वा चुनावमा एसो गर्छु भनेर आफू भोट नमाग्ने पनि बताए। 

'चुनावमा जाँदा चुनावमा जिते भने म संगठन यस्तो बनाउनुछु भन्ने योजना  अभ्यास बन्द गरेर चुनाव जिते पनि हारे पनि कार्यान्वयन गर्ने योजना आवस्यक छ' उनले भने, 'चर्चाका लागि योजना लैजाने विचारमा म छैन।' उनले एउटा व्यक्तिका योजनाले सबैका आवस्यकता पुरा नहुने भन्दै उनले जनताका आवस्यकता उनीहरुकै योजनाले पुरा हुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell