PahiloPost

May 15, 2025 | २ जेठ २०८२

तिहारमा लगातार पाँच दिन सार्वजनिक विदा हुने, भारतीय राष्ट्रपतिको भ्रमणले विदा लम्बियो



पहिलोपोस्ट

तिहारमा लगातार पाँच दिन सार्वजनिक विदा हुने, भारतीय राष्ट्रपतिको भ्रमणले विदा लम्बियो

काठमाडौँ : तिहारमा सामान्यतया तीन दिन मात्र विदा हुने भए पनि यस पटक लगातार पाँच दिन सार्वजनिक विदा हुने भएको छ। भारतीय राष्ट्रपतिको भ्रमणका कारण विदा लामो हुने संयोग जुरेको हो। 

मन्त्रिपरिषद्को आजको बैठकले अबदेखि छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल भ्रमण आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। 

भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १७ गते बुधबार तीन दिने नेपाल भ्रमणमा आउँदै छन्। विदा भने आउने दिनमात्र हुनेछ।  चीनका राष्ट्रपतिको भ्रमण अहिलेसम्म टुङ्गो नलागे पनि मन्त्रिपरिषद्ले भने विदाको टुङ्गो लगाइसकेको हो। 

कात्तिक १३ गते शनिबार परेको छ भने १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवर्द्धन पूजा र १६ गते मंगलबार भाइटीकाको सार्वजनिक विदा छ। १७ गते बुधबार पनि भारतीय राष्ट्रपतिको भ्रमणका कारण विदा भएपछि शुक्रबार बन्द भएका सरकारी कार्यालय अब एकै पटक १८ गते बिहीबार मात्रै खुल्नेछ।
  
मन्त्रिपरिषद्को बैठकले नेपाल घरेलु तथा साना उद्योग विकास समितिको रिक्त अध्यक्षमा सिन्धुली झाँगाझोली निवासी दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ।

यस्तै थानकोट–चित्लाङको गणेशमान मार्गको स्तरोन्नति गर्ने सरकारले निर्णय गरेको छ । 

संविधान संशोधन र राजनीतिक सहमतिबारे पत्रकारको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले सो विषय मन्त्रिपरिषदमा छलफल नभएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell