- किरण भट्टराई -
कार्यक्रममा बलका जीवित पाँच पूर्व महानिरीक्षकमध्ये एक जना मात्रै पूर्व महानिरीक्षक किशोरकुमार राई उपस्थित थिए। तत्कालीन बहालवाला प्रहरी महानिरीक्षक कोषराज वन्तसहित पूर्व महानिरीक्षक सनतकुमार बस्नेत, वासुदेव ओली, शैलेन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ र यस सम्बन्धी अदालती प्रक्रिया जारी छ। सोही कारण पूर्व महानिरीक्षकहरु कार्यक्रममा उपस्थित नभएको अनुमान गरिएको छ।
बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिवाकर केसीले सबै पूर्व महानिरीक्षकहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको बताए।
उनले भने – “हामीले सबै पूर्व महानिरीक्षकहरुलाई आमन्त्रण गरेका थियौँ। उहाँहरु किन आउनुभएन, त्यसको जानकारी भएन।”
बलका हालसम्मका सात पूर्व महानिरीक्षकमध्ये संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठको द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा (माओवादी) को आक्रमणमा मृत्यु भएको थियो। त्यसपछिका महानिरीक्षक सहवीर थापाको छ वर्षअघि निधन भएको थियो।
माओवादी विद्रोह फैलिएको र नेपाली सेना परिचालन गर्न तत्कालीन दरबारले असहयोग गरेको परिपेक्ष्यमा माओवादीलाई दबाउन विसं २०५८ मा बलको स्थापना गरिएको थियो।
बलका अधिकांश नेतृत्वविरुद्ध भ्रष्टाचारको आरोप लागेपछि यो सङ्गठनको प्रतिष्ठामा धक्का लागेको छ। भूकम्पपछिको उद्धार तथा राहत, बाढी, पहिरो, दुर्घटनालगायतमा उल्लेखनीय भूमिका खेलेर बलले आफ्नो छवि सुधार्न प्रयास गरिरहेको छ।
नेपाल राज्यको कुनै भागमा भएका वा हुन सक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्नु, आतकङ्कारी गतिविधि र दङ्गा नियन्त्रण गर्नु बलको कार्यक्षेत्र भएको सशस्त्र प्रहरी ऐन २०५८ मा उल्लेख छ।
त्यसैगरी, राज्यको सीमा सुरक्षा, बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्ने, सार्वजनिक महत्वका भवन, संरचनाको सुरक्षा, विशिष्ट व्यक्तिलाई सुरक्षा प्रदान गर्ने, भन्सार, राजस्व र औद्योगिक सुरक्षा प्रदान गर्ने कामसमेत बलको कार्यक्षेत्रभित्र पर्छ।
पक्राउ पुर्जीका सम्बन्धमा एक वर्षअघि नेपाल प्रहरी र बलबीच सम्बन्ध चिसिएको थियो । पक्राउ परेका व्यक्तिलाई पक्राउ पुर्जी आफूले पनि दिन पाउनुपर्ने बलको मागमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहमति दिएपछि दुई सङ्गठनबीच विवाद देखिएको थियो ।
बलका तत्कालीन महानिरीक्षक वन्त भ्रष्टचार मुद्दामा निलम्बित भएपछि महानिरीक्षक बन्नुभएका दुर्जकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको आपसी सम्बन्धमा अहिले सो विषय थामथुम पारिएको छ ।
तर भोलिका दिनमा फेरि सो विषय बल्झने प्रशस्त सङ्केत देखिएकाले यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा सुरक्षाविज्ञले जोड दिएका छन्। रासस