काठमाडौं : राष्ट्रिय फुटसल लिग अन्तर्गत बिहीबार भएको खेलमा बानेश्वर रिक्रियसन फुटसल सेन्टरले जित हासिल गरेको छ भने कीर्तिपुर र कुमारी फुटसलले बराबरी खेलेका छन्।
बानेश्वर रिक्रियसन सेन्टरको होम ग्राउन्डमा भएको खेलमा बानेश्वरले इम्पेरियल फुटसललाई ७–४ गोल अन्तरले पराजित गर्यो। बानेश्वर रिक्रियसनको जितमा सञ्जय श्रेष्ठले ह्याट्रिक गरे भने दिपु लामाले २ तथा कप्तान मानसाजन राजभण्डारी र कफ्र्यु रसाइलीले १/१ गोल गरे।
इम्पेरियलका सन्देश सिलवालले २ गोल गरे भने किसन अधिकारी र निरज गैरेले १/१ गोल गरे पनि टोलीलाई हारबाट बचाउन सकेनन्। यस खेलको 'म्यान अफ द म्याच' इम्पेरियल फुटसलका किसन अधिकारी भए ।
लिगमा ४ खेल खेलेको बानेश्वर ७ अंकका साथ समूह ए को तेस्रो स्थानमा रहेको छ। ४ खेल खेलेको किकअफ फुटसल १२ अंकसहित समूह ए को शीर्ष स्थानमा रहँदा ४ खेलबाट ७ अंक नै जोडेको ह्वाइट हर्स फुटसल गोल अन्तरका आधारमा बानेश्वरभन्दा अगाडि छ।
त्यसैगरी ४ खेल खेलेको इम्पेरियल ३ अंकका साथ समूहको सातौं स्थानमा रहेको छ। यस समूहको अन्तिम स्थानमा रहेको आदर्श फुटसलले अहिलेसम्म एक अंक मात्र जोड्न सकेको छ।
यस्तै समूह बी अन्तर्गत कुमारी फुटसल पकनाजोलमा भएकोे खेलमा कुमारीले कीर्तिपुर फुटसलसँग ३–३ गोलको बराबरी खेलेको छ। कीर्तिपुरका लागि यमन महर्जनले २ गोल गरे भने जोन महर्जनले १ गोल गरे। कुमारी फुटसलका आशिश तामाङले २ र राजीव लोप्साङले १ गोल गरे। कुमारी फुटसलका आशिश तामाङ 'म्यान अफ द म्याच' भए।
बराबरीसँगै कुमारी फुटसल ४ खेलबाट ७ अंक जोड्दै समूह बी को तेस्रो स्थानमा रहेको छ भने ४ खेल नै खेलेको कीर्तिपुर ४ अंकका साथ सातौं स्थानमा छ। यस समूहमा ताहाचल फुटसल ९ अंकसहित शीर्ष स्थानमा छ।