PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

फेसबुकमा सुन्दरीको फ्रेन्ड रिक्वेस्ट पाउँदा दङ्ग पर्नुभएको छ? सावधान, फेमिनाले जस्तै फँसाउलिन



सविन ढकाल

फेसबुकमा सुन्दरीको फ्रेन्ड रिक्वेस्ट पाउँदा दङ्ग पर्नुभएको छ? सावधान, फेमिनाले जस्तै फँसाउलिन

'यी त मेरी श्रीमती हुन्। मसित मलेसियाको मन्दिरमा विवाह भइसक्यो।'

भर्खरै बिहे गरेकी आफ्नी श्रीमतीलाई आफ्नै घरमा आएर अर्कैले दावी गरेपछि सुरुमा त श्रीमानको पारो तात्छ। केही बेर त झगडा नै हुन्छ। 

तर बुझी हेर्दा उसको दावी सही ठहरिएपछि पो मोरङको धनाढ्य परिवारकी नवविवाहित बुहारीको पोल खुल्छ। हिस्सी परेको अनुहारको आवरणभित्र नटवरवाल चरित्र बुझेपछि छुटकारा पाउन उजुरी लिएर प्रहरी कहाँ पुग्छ दुवै श्रीमान र उनीहरुको परिवार। अनुसन्धानको क्रममा खुल्छ कुनै फिल्मी घटनाभन्दा कम छैन फेमिनाको कर्तुत।

ooo

समय कटाउन राति अबेरसम्म मोबाइल चलाउँदै गरेका १९ वर्षीय सुदीप आचार्य (परिवारको अनुरोधमा नाम परिवर्तन) को फेसबुकमा अचानक एउटा नोटिफिकेसन आयो।

फ्रेन्ड रिक्वेस्ट रहेछ। अपरिचित युवतीको। नाम थियो फेमिना चापागाइँ।

उनले प्रोफाइल पिक्चरमा क्लिक गरे- यौवनले धपक्कै बलेको रुप भएको फोटोबाट आँखा हट्नै मानेन। 



तत्काल फ्रेन्ड रिक्वेस्ट एसेप्ट भयो।

घटना थियो २०७२ साल मंसिर २० गते राति ११ बजेको।

‘हामी केही समयमा नै मिल्ने साथी भयौँ,’ सुदीपले पहिलोपोस्टसित भने।

फेमिनाले आफू अहिले जर्मनीमा बस्दै आएको र घर सुनसरीको इटहरीमा भएको बताइन्। सुदीपले फेसबुकमा हेर्दै गर्दा उनको पूर्वराजा ज्ञानेन्द्र शाह, युवराज्ञी हिमानी शाह लगायतसँग संगत भएको देख्छन्।

त्यसो त सुदीपको परिवार पनि मोरङको धनाढ्य घरानामा नै पर्छ।

फेसबुकको भर्चुअल भेट त्यतिमा मात्र सीमित हुन मानेन। केही दिनमा नै उनले सुदीपलाई प्रेम प्रस्ताव राखिन्। फेमिनाले आफूले जर्मनीमा केही होटेल र  ब्युटीपार्लरसमेत संचालन गर्दै आएको जानकारी गराउँदै सुदिपलाई पनि जर्मनी नै बोलाउँछिन्।

‘जर्मनीमा नै आउन त गाह्रो हुन्छ,’ सुदीप आफ्नो समस्या राख्छन्।

तर फेमिनाले भने आफूसित रातो पासपोर्ट भएको र विवाहपछि दुवै जना जर्मनमा सेटल हुने प्रस्ताव राख्छिन्। यो प्रस्तावले सुदीप लोभिन्छ। अन्ततः परिवारलाई नै जानकरी नगराई दुवै जना विवाह गर्ने निर्णयमा पुग्छन्।

ooo

पुस २८, २०७२।

आफ्नी हुनेवाली श्रीमतीलाई स्वागत गर्न सुदीप काठमाडौँ हानिन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल गेटबाहिर जर्मनीबाट आएकी भन्ने फेमिनासँग सुदीपको पहिलो भेट हुन्छ। भर्चुअल भेटले चिनजान गहिरिसकेको हुनाले वास्तविक भेटमा कुनै अप्ठेरो महसूस हुँदैन। दुवैजना खुसीले अंकमाल गर्छन्। अनि नजिकैको राम्रो होटलतिर लाग्छन्।

पाँच दिन उनीहरुले सँगै होटलमा नै बिताउँछन्।

दुवैको घर पूर्व भएकाले उनीहरु माघ ४ गते पूर्वतिर जाने सोच बनाउँछन्। प्लेनको टिकट नपाएकाले उनीहरु गाडीबाट नै घर जाने निर्णय गर्छन्।

इटहरी पुगेपछि फेमिना ओलिर्न्छिन् र सुदीपलाई गाडीबाट नै इटहरी चोकतिर देखाउँदै भन्छिन्- ऊ त्यो चार तले मेरै हो। 

उनी लगेज लिएर लाग्छिन्, सुदीप भने उर्लाबारीतिर लाग्छ। केही दिन उनीहरु बीच फोनमा मात्र कुराकानी हुन्छ।

दुवै जनाले परिवारमा सल्लाह नै नगरी माघ २१ गते विवाह गर्ने निर्णय गर्छन्।

सुदीप आफ्नो घरमा भएको कार लिएर सुनसरीको पाथिभरा मन्दिरमा पुग्छन्, सिन्दुर पोते गर्छन्। त्यसपछि बल्ल घर पुगेर आमाबुबालाई भन्छन्- मैले त बिहे गरिसकेँ।

बाबुआमा तीनछक्क। कस्तो केटी हो, घर परिवार कस्तो हो- भर्खर १२ कक्षा पढ्दै गरेको छोराले विवाह गरेको कुरा सुनाएपछि परिवारमा चिन्ता थपियो।

उनकी आमा भन्छिन्- 'हामीले छोड्, यस्तो विवाह हुँदैन भनेर कति भन्यौँ। तर छोरा त्यो केटीसित विवाह नगरिदिए विष खाएर मर्छु भन्दै डोरी लिएर झुन्डिन हिँड्यो।'

उसको ढिपी अगाडि परिवारको केही लागेन। अन्ततः केटीको परिवारसँग छलफल गरी विवाह गर्ने निर्णय भयो।

सुदीपको परिवार गाडी लिएर केटीको घर पुग्यो। त्यही सुदीपलाई बसबाटै देखाएको चार तल्ले घरमा। तर घर उनको रहेनछ। सुदीपको परिवार यहीँबाट सतर्क हुनुपर्ने हो तर उनीहरुले यसलाई खासै ध्यान दिएन।

उनका बुबाले भने - हामीले धनभन्दा पनि छोराको भविष्यलाई र बुहारीको बानी हेर्‍यौँ।

वैशाख १८ गते धुमधामसँग विवाह गर्ने निर्णय भयो। विवाहको लागि सुदिपको परिवारले ५० लाखभन्दा बढी खर्च गर्‍यो।


फेमिनाले फेसबुकमा राखेको राप्रपा नेपाल अध्यक्ष कमल थापासितको फोटो
विवाहमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित राजनीतिक दलका नेतासमेत पुगेका थिए। विवाहपछि दुवैको वैवाहिक जीवन सामान्य नै चल्दै थियो। बुहारीलाई धनाढ्य परिवारले सुनका गहनादेखि गाडीसम्मको जोरजाम गरिदिएको थियो। 

जर्मनी जाने कुरा पनि भइरहेको थियो।

तर विवाह भएको केही दिनमै सुदीपमाथि बज्रपात भयो। 

संखुवासभाका २९ वर्षीय रवि बराल (परिवारको अनुरोधमा नाम परिवर्तन) सुदीपको घरमा पुगे। ‘फेमिना मेरी श्रीमती हो,’ उनको दावी थियो।

भर्खर विवाह गरेकी श्रीमतीलाई आफ्नो भनेपछि दुई पक्षबीच झगडा नै चल्यो। फेमिनाले फेसबुकमा अपलोड गरेको बिहेको फोटो देखेपछि रवि पुगेका थिए सुदीपको घर।  

प्रमाणै देखाएपछि पत्याउन करै लाग्यो। यो पहिलो झट्का थियो।

दोस्रो झट्का त्यतिबेला लाग्यो जब एक अपरिचित युवकले फोन गरे सुदिपको घरमा। त्यो फोन काठमाडौको एक होटेल मालिकको थियो।

‘फेमिना तपाईँकी बुहारी रैछे। मलाई जर्मनी लग्दिन्छु भन्दै १० लाख लिएकी छे,फिर्ता पाऊँ।‘

काठमाडौँमा विदेशबाट आएकी प्रेमिका भेट्न जाँदा सुदीप र फेमिना जुन होटलमा बसेका थिए, त्यही होटलका मालिकलाई पट्याएर पैसा कुम्ल्याउन भ्याइसकेकी रहिछिन् उनले। 

झट्का लाग्ने यो क्रम जारी रह्यो। मेरो पैसा खाइदिएको छ भन्दै आउनेहरुको लर्को नै लाग्यो। 

त्यसपछि फेमिनाको एक-एक झुटको पर्दाफास भयो। सुदीपकी आमाले भनिन्-‘हामीलाई त चट्याङ्गै परे जस्तो भयो।‘
 

यसरी भएको थियो रविसित फेमिनाको भेट र विवाह


मेरी श्रीमती भन्दै सुदीपको घरमा पुग्ने रविको कथा पनि भिन्न छैन।

९ वर्षदेखि मलेसियाको एक सेक्युरिटी कम्पनीमा सिनियरको रुपमा काम गर्दै आएका उनको पनि फेमिनासित भेट फेसबुकमा नै भएको थियो।  

सन् २०१४ को डिसेम्बर महिनामा भएको भेटले केही दिनमा नै प्रेम सम्बन्धको रुप धारण गर्छ।

‘मलाई पनि मलेसिया बोलाऊ न,’ फेमिनाले यस्तो आग्रह गरेपछि साथी र साहुलाई भनेर उनले आफ्नै खर्चमा भिजिट भिसामा मलेसिया बोलाए।

रविले पहिलोपोस्टसित भने, ‘फेमिनालाई मलेसिया बोलाएर केमात्र गरिनँ? लाखौँ खर्च गरेँ।‘

मलेसिया कै एउटा मन्दिरमा दुई जनाको बिहे भयो। १३ महिनासम्म उनीहरुसँगै बसे।

केही समयपछि फेमिनाले दुवै जना जर्मनी जाने प्रस्ताव राखिन्। मेरो अंग्रेजी राम्रो छैन भन्दै सुरुमा रवि तर्किए। तर फेमिना मानिनन्।

‘कति लाग्छ त खर्च?,’ फेमिनाको जिद्दी जारी रहेपछि  उनले सोधे।

दुवै जना जान ६० लाख लाग्ने उनले बताइन्। शुरुमा त रविले गाउँको खेत बेचेर पैसा जुटाउने भन्दै परिवारसँग सल्लाहसमेत गरे। तर परिवारले नमानेपछि यो योजना सफल हुन सकेन।

त्यसपछि फेमिनाले जर्मनीमा आफ्नो साथी भएको र अंग्रेजी पनि राम्रो भएकाले पहिलो आफू जाने र पछि रविलाई बोलाउने प्रस्ताव राखिन्।

रविलाई पनि यो प्रस्ताव मन पर्योे। उनले आफूसँग भएको ६ लाख रुपैयाँ दिएर फेमिनालाई जर्मन जाने तयारीको लागि नेपाल पठाउँछन्।

नेपाल आएपछि पनि जर्मनी जाने तयारीबारे उनले रविलाई जानकारी दिइराखेकी हुन्छिन्। उनले जर्मनी जानको लागि थप पैसा, रविको फोटो माग्छिन्। 

रविले पनि जर्मनी जाने लोभमा पटक-पटक लाखौँ रकम पठाइरहन्छन्। 

एक दिन फेमिनाले रविलाई जनवरी १९ तारिखमा जर्मनीको फ्लाइट भएको भन्दै नेपाल आउन आग्रह गर्छिन्। रवि जर्मनी जाने आशमा खाइपाइ आएको जागिर छोडेर नेपाल आउँछन्।

नेपाल आउने बित्तिकै फेसबुकमा फेमिनाको सुदिपसँग सिन्दुरपोते लगाएको फोटो देखेपछि उनी झण्डै मूर्च्छा परेनन्। 

उजुरी बोकेर प्रहरीमा आएका रवि भन्छन्- 'मेरो सबै धनमाल सखाप भयो।  ९ वर्ष मलेसियामा कमाएको २० लाख पनि खरानी भयो।'

फेमिनाले विभिन्न व्यक्तिलाई जर्मनी लग्ने भन्दै अहिलेसम्म करोडौँ ठगेको सुदीपको परिवारले जनाएको छ। सुदीपका बुबा भन्छन्- 'फेमिना तपाईँकी बुहारी रहिछे भन्दै पैसा माग्नेको लाइन छ।'


पूर्व राजा र पूर्व युवराज्ञीसित फेमिनाले फेसबुकमा राखेको फोटो। 

फेमिनाको फँसाउने फन्डा

फेसबुकमा फेमिना चापागाईँ नाम राखे पनि नागरिकतामा भने उनको नाम विद्या सरकार रहेको प्रहरी अनुसन्धानले देखाएको छ। 

उनले फेसबुकमा पूर्व राजा ज्ञानेन्द्र शाहदेखि पूर्व युवराज्ञी हिमानी शाह, नायक राजेश हमालसँगको फोटोहरु राखेर मानिसलाई भ्रम छर्ने गरेकी छिन्। 

स्टुडियोमा गरिएका फोटोसुट र त्यसमाथि एडिट गरेर राम्रा बनाइएका फोटोहरु फेसबुकमा अपलोड गरेपछि जोकोही पनि लोभिने बनाउँछ।  
जर्मनीमा भएको फोटो, हातमा रातो पासपोर्ट आदिले उनलाई शंका गर्ने बाटो दिँदैन। 



रातो रङको पासपोर्टसहित फेमिनाले फेसबुकमा राखेको फोटो।

प्रहरी अनुसन्धानले देखाएको छ- जुन दिन सुदीप उनलाई पहिलो पटक भेट्न र लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए, त्यो दिन उनी जर्मनीबाट नभएर मलेसियाबाट रविसँग छुट्टिएर आएकी थिइन्। 

त्यो दिन मलेसियाका श्रीमानसँग छुट्टिएर उनी मोरङका नयाँ हुनेवाला श्रीमानलाई भेट्दै थिइन्। 

अहिले दुवै श्रीमान् र उनीहरुको परिवार फेमिनाले आफूहरुलाई ठगी गरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखामा पुगेका छन्। 

उनीहरुको उजुरी अनुसार प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी महाशाखाका प्रहरी निरीक्षक गोविन्द पन्थीले दिए। 

फेमिना भने फरार छिन्। उनी कहाँ छिन् दुवै परिवारलाई केही थाहा छैन। शायद् फेसबुकबाटै अर्को मुर्गा फँसाउने योजनाको तानाबुना बुन्दैछिन्....!!

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell