
काठमाडौं : रामेछापको भुजीमा जारी जिल्लाकै सर्बाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता भुजि लिग रनिङ शिल्डको उपाधिका लागी भुजीकै लेसु खोला लघु जलबिद्युत आयोजना र काठमाडौंको बेथलेहेम फुटबल क्लब भिड्ने भएका छन्।
विहिबार भएको सेमिफाईनलमा आआफ्नो खेलमा जित हात पार्दै लेसु खोला र बेथलेहेमले फाईनल भेट पक्का गरेका हुन्। फाईनल खेल हाज हुँदैछ।
भुजि मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा लेसु खोलाले ओखलढुङगा खिँजीको पबित्र युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्यो। सुरुवाती अग्रता बनाएर पनि पबित्रले त्यसलाई कायम राख्न नसक्दा पराजित हुन पुग्यो।
केशर सुनुवारले छैटौं मिनेटमै गोल गर्दै पबित्रलाई अग्रता दिलाएका थिए। तर त्यसपछि लगातार २ गोल गर्दै लेसु खोलाले जित हात पार्यो। लेसु खोलाका लागी खेलको ३५ औं मिनेटमा सुरेश खत्रीले बराबरी गोल गरे भने त्यसको तीन मिनेटपछि नै उजन लामाले गोल थपेपछि लेसु खोला बिजयी भयो।
यस्तै बेथलेहेमले रामेछाप प्रितीकै मिलन चोक युथ सोसाईटीलाई २–० ले पराजित गर्यो। बेथलेहेमका लागी सुबास सुनुवार र सुनिल तामाङले गोल गरे। सुवासले खेलको १६ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सुनिलले ४० औं मिनेटमा अर्काे गोल थपेपछि बेथलेहेम सहजै फाईनल पुग्न सफल भयो।
यी चारै टोली बिहिबारै भएको क्वाटरफाईनलमा जित हात पार्दै सेमिफाईनलमा पुगेका थिए। लेसु खोला भुजीकै हुपिनचुलीलाई ४–१, पबित्र बेथलेहेम चोचोङ युथ क्लबलाई टाईब्रेकरमा ७–६, पबित्र रस्नालुको रानी पोखरी युथ क्लबलाई २–१ तथा मिलनचोक युनाईटेड रस्नालुलाई १–० ले पराजित गर्दै अन्तिम चारमा पुगेका थिए।
गत शुक्रबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न २४ टोलीको सहभागीता रहेको थियो। प्रतियोगिताको बिजेता टोलीले ५१ हजार पाँच सय तथा उप बिजेता टोलीले २५ हजार पाँच सय प्राप्त गर्ने छन्।
यस्तै तेस्रो हुनेले १३ हजार पाँच सय प्राप्त गर्ने छ। ब्यक्तिगत बिधामा उत्कृष्ट घोषित हुने खेलाडीले पनि विशेष पुरस्कार प्राप्त गर्नेछन्।