PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

​राष्ट्रपतिसहितको सर्बदलीय तथा सुरक्षा प्रमुखको बैठकबाट बिदाको निर्णय : प्रम प्रचण्ड



पहिलोपोस्ट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले दुई छिमेकी भारत र चीनका राष्ट्र प्रमुख नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिने निर्णय राजनीतिक दलका नेता, सुरक्षा निकाय लगायतबाट आएको सुझावका आधारमा लिइएको प्रस्ट्याएका छन्।
 
व्यवस्थापिका–संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आएका विभिन्न राजनीतिक दल सम्बद्ध सयुंक्त विद्यार्थी प्रतिनिधिमण्डलसँगको भेटमा उनले सबैको सुझावका आधारमा मन्त्रिपरिषद्को बैठकले बिहीबार सोसम्बन्धी निर्णय लिएको प्रधानमन्त्रीले जानकारी दिएको उनको निजी सचिवालयले जनाएको छ।
 
भेटमा प्रधानमन्त्रीले भने,“भ्रमणको तयारीका लागि राष्ट्रपतिज्यू समेतको सहभागितामा राजनीतिक दलका प्रमुख नेतासहितको राष्ट्रपति निवासमा बैठक भएको थियो, छिमेकीप्रतिको सद्भाव र काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन समेतलाई विचार गरेर एक दिन बिदा दिँदा राम्रो सन्देश जाने राय आएपछि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो।”
 
बिदा दिने प्रस्ताव र निर्णय प्रधानमन्त्रीले ल्याएको झैँ गरी प्रचार गरिएकामा असन्तुष्टि जनाउँदै उनले सो कुरा गलत र भ्रामक भएको टिप्पणी गरे। भेटमा प्रधानमन्त्रीले विद्यार्थीको एकताले आफू प्रभावित भएको बताउँदै आफू सबैसँग समान धारणा बनाएर महाभियोग पारित गराउने पक्षमा रहेको समेत जानकारी दिए।
 
प्रधानमन्त्रीले भने,“हरेक काममा तपाईँहरुले जुन एकता प्रदर्शन गर्नुभएको छ, यसले राजनीतिक नेतालाई पनि प्रेरणा मिलेको छ।” उनले अख्तियारको दुरुपयोग रोक्ने र सुशासन कायम गर्ने जिम्मेवारी पाएको व्यक्तिलाई नै महाभियोग लगाउनुपर्ने बाध्यता राम्रो नभएको बताउँदै यसले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सकारात्मक शिक्षा दिने विश्वास व्यक्त गरे।
 
भेटमा विद्यार्थी नेताले संसद्मा पेस भएको महाभियोग प्रस्ताव सकारात्मक रहेको बताउँदै प्रस्ताव पारित गर्नका लागि विशेष भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell