
काठमाडौं : मधेशवादी दलहरुको गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अवसर भन्दै त्यतिबेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै यादवले मोर्चाले अहिले नै सरकारलाई कुनै अल्टिमेटम नदिएको बताए। उनले भने, ‘हामीले सरकारलाई अल्मिटेम दिएका छैनौं। प्रधानमन्त्री स्वयमले नै संविधान संशोधनको लागि म्याद तोक्ने काम गर्नुभएको छ। तर छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारेमा निर्णय गर्छौं।’
यादवले मधेशी मोर्चासँग काँग्रेस र नेकपा माओवादी केन्द्रले गरेको तीन बुँदे सम्झौता अहिलेसम्म पूरा नभएको गुनासो पोखे। उनले सरकारले अहिलेसम्म मन्त्रिपरिषदको बैठकबाट गर्न सक्ने सामान्य काम समेत नगरेको आरोप लगाए।
‘बकबक बोलेरमात्रै हुँदैन। उहाँले बोले बमोजिम छठ अब अन्तिम मिति होस्। यो राज्यले मौका नगुमाओस्, हामीले मुलुकलाई निकास दिनको लागि नै तीन बुँदे सम्झौता गरेका थियौं,’ उनले भने।
उनले पछिल्लो समय संविधान संशोधन, महाअभियोगको प्रस्ताव, चुनाव लगायतका विषयहरु प्याकेजमै गर्नेबारे चर्चा भएको उल्लेख गर्दै यो प्रस्तावलाई मोर्चाले पहिल्यै नै अस्विकार गरिसकेको बताए। उनले भने, ‘यो प्रस्ताव धेरै पूराना हो, यसलाई गठबन्धनले पहिले नै अस्विकार गरिसकेको छ।’
उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव किन र के उद्देश्यको लागि ल्याइएको भन्ने कुरामा आफूहरु अहिलेसम्म नै अनभिज्ञ रहेको बताउँदै भने, ‘के को लागि ल्याइएको हो भन्ने कुरामा हामी अहिलेसम्म पनि जानकार छैनौं, त्यसैले हामी अहिले पक्ष वा विपक्ष कतैतिर पनि छैनौं।’