
बेरुत : सिरियाली विद्रोही समूहद्वारा अलेप्पो र लताकिया प्रान्तमा सरकारी बललाई लक्ष्य गरी दर्जनौ रकेट आक्रमण गरेका छन्। सरकारको नियन्त्रणमा रहेको विद्रोहीद्वारा अलेप्पो सहर कब्जाको तयारी भइरहेको एक मानवअधिकार समूहले जनाएको छ।
सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पो सहर बाहिरी इलाकामा विद्रोही र सरकारी पक्षबीच भीषण झडप भएपछि सो रकेट प्रहार गरिएको बताइएको छ।
सिरियाको अल दाहियेट अल असादको छिमेकमा पर्ने इलाकामा रहेको प्रहरी जाँचचौकीमा लक्ष्यगरी दुई वटा आत्मघाती आक्रमण भएका सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जानकारी दिएको छ।
विद्रोही लडाकूले अलेप्पो सहर टुक्र्याएर कब्जा गर्ने कार्य सुरु गरेको अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले बताएका छन्।
बेलायतसँग आवद्ध यस मानवअधिकार समूहका अनुसार सरकारको नियन्त्रणमा रहेको पूर्वी अलेप्पो सहरको नैराब सैनिक विमानस्थल र अलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल दर्जनौँको सङ्ख्यामा रकेट आक्रमण गरिएको थियो।
सँगसँगै इदलिब प्रान्त र सरकारको नियन्त्रणमा रहेको लताकिया प्रान्तमा विद्रोहीद्वारा गरिएको रकेट प्रहारमा सात व्यक्ति घाइते भएका छन्।
अब्देल रहमानका अनुसार विद्रोहीले जारी राखेको यस कारबाहीमा विद्रोही समूह इस्लामिक अहरार अल साम र अल कायदासँग आवद्ध फातेह अल साम फ्रोन्ट समूहको सभागीता रहेको छ। फातेह अल साम फ्रोन्ट समूहलाई यस अघि अल नुस्रा फ्रोन्टको नामबाट चिनिन्थ्यो।
सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनले पछिल्ला कैयौँ वर्षदेखि गृहयुद्धको रुप लिएको छ।
जारी गृहयुद्धको क्रममा आइएस जिहादी समूह, अल कायदा र कुर्दिस लडाकूको बिगबिगी जारी रहेको बताइन्छ। यसको कारण छिमेकमा रहेका टर्कीगायतका देशको सिमानामा हिंसा पनि बढेको पाइन्छ।
सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसामा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको निधन भएको छ। रासस/एएफपी