PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

फुटसल लिग : रजनी फुटसलको जित, हरिसिद्धि र ताहाचलबीचको खेल बराबर



पहिलोपोस्ट

फुटसल लिग : रजनी फुटसलको जित, हरिसिद्धि र ताहाचलबीचको खेल बराबर

काठमाडौं : फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा रजनी फुटसलले जित हासिल गरेको छ भने हरिसिद्धि र ताहाचल फुटसलले बराबरी खेलेका छन्।

ह्वाइट हर्स फुटसल सुकेधारामा भएको समूह ए को खेलमा अवे टिम रजनी फुटसलले होम टीम ह्वाइट हर्सलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। रजनीलाई जिताउन सुमन कार्कीले २ गोल गरे भने रुसन केसीले १ गोल गरे। ह्वाइट हर्सका मञ्जिल महर्जनले १ गोल फर्काए। रजनी फुटसलका गोलकिपर सुलेमान चिन्नल खेलको 'म्यान अफ द म्याच' भए।

५ खेल खेलेको रजनीले ७ अंक जोड्दै समूह एमा तेस्रो स्थानमा उक्लिएको छ। ४ खेलबाट ७ अंक जोडेको बानेश्र रिक्रियसन सेन्टर गोल अन्तरमा रजनीभन्दा अगाडि छ। यस समूहमा किकअफ फुटसल १२ अंकसहित शीर्ष स्थानमा छ।


यस्तै ललितपुरको हरिसिद्धिस्थित होम ग्राउन्डमै भएको खेलमा हरिसिद्धिले अवे टिम ताहाचल फुटसलसँग ३–३ गोलको बराबरी खेलेको छ। हरिसिद्धिका लागि निरज महर्जन, लालबहादुर तामाङ र रैफी महर्जनले १/१ गोल गरे। ताहाचलका सुदिप बुढाथोकीले ह्याट्रिक गरे पनि आफ्नो टोलीलाई जिताउन सकेनन्। खेलको 'म्यान अफ द म्याच' ताहाचल फुटसलका सुनिल बस्नेत घोषित भए।

बराबरीपछि ५ खेल खेलेको ताहाचल १० अंकसहित समूह बीमा शीर्ष स्थानमा रहेको छ भने ५ खेल नै खेलेको हरिसिद्धि ८ अंकका साथ दोस्रो स्थानमा छ।

एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म हुने लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell