PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

​धुर्मुस सुन्तलीको सिको गर्दा एकीकृत बस्ती अलपत्र



मनोज सत्याल

​धुर्मुस सुन्तलीको सिको गर्दा एकीकृत बस्ती अलपत्र

काठमाडौं : धर्मुस - सुन्तली फाउन्डेसनले शुक्रबार सिन्धुपाल्चोकको गिरान चौरमा भूकम्पले ध्वस्त भएको बस्ती पुर्ननिर्माण गरी हस्तान्तरण गर्‍यो।  ५७ परिवारलाई राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत घरको साँचो हस्तान्तरण गरिन्।

तर, धुर्मुस र सुन्तलीको सिको गर्दै सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकाको अर्को एकीकृत बस्ती पुर्ननिर्माणमा स्थानीयले गरेको प्रयास भने अलपत्र परेको छ।
 
मेलम्ची नगरपालिकाको वडा नं १ मा स्थानीयले जग्गा सम्याउने सम्मको काम गरे पनि बस्ती निर्माण आवश्यक बजेट अभावले अलपत्र परेको हो।
 
एकै स्थानमा २४ घर बनाउन जग्गा सम्याउने काम भए पनि बाँकी काम रकम अभावले अगाडि बढ्न नसकेको कोषाध्यक्ष चक्रपाणी सिग्देलले बताए। 

न्यायो कपडाका लागि एउटा संस्थाले दिएको ५ हजार रुपैयाँ जम्मा गरेर १ लाख २० हजार र स्थानीयले प्रति परिवार दश/दश हजार रुपैयाँ उठाएर काम सुरु गरे। तर अहिलेको भूक्षयको सम्भावित खतरा रोक्न पर्खाल लगाउने रकमसमेत अभाव भएको उनले बताए।
 
सुरुवातमा मेलम्ची नगरपालिकाले एकीकृत बस्ती निर्माणका लागि ४ लाख ७८ हजार र मेलम्ची खानेपानी आयोजनाले ६ लाख ५६ हजार सहयोग गरेका थिए।

तर, बस्ती निर्माण हुने स्थान भिरालो भएकाले सम्भावित भूक्षय रोक्न र माथिबाट आउने पहिरो रोकथाममा रकम अभाव भएको सिग्देलले जानकारी दिए।
 

के थियो योजनामा

भवानीशंकर सिग्देल एकीकृत आवास क्षेत्र निर्माण समूहले २४ घर, एउटा सामुदायिक भवन, एउटा पुस्तकालय, सहकारी भवन र प्राथमिक स्वास्थ्य उपचार केन्द्र बनाउने योजना तयार गर्‍यो।
 
'हामीलाई आवश्यक पूर्वाधारका लागि बजेट कम भयो, एम्बुलेन्स जाने बाटोसम्म त हुनुपर्‍यो नि,' उनले भने, ‘काम थालियो तर अहिले अलपत्र परेको छ।'
 
'छरितो घर बनाउने २४ वटा, माथि ४ कोठा र तल ३ कोठा भएको, त्यसो हुँदा अन्न बिग्रँदैन थियो,' सिग्देलले योजना सुनाउँदै भने, 'स्थानीयको आवश्यकता अनुसारको बनाउन खोजेको थियौं। बिहे, ब्रतवन्ध गर्न सामुदायिक भवन बनाउने योजना छ।'
'सामुहिक अन्न भण्डार बनाउने भन्ने छ, थोरै जग्गामा, सामुहिक अन्न भण्डार, पुस्तकालय, सहकारी भवन बनाउन खोजेको थियौँ,' उनले भने।

 
आचारसंहिता पनि

गाउँमा सानो विषयमा र घाँस चोरेको विषयमा समेत झगडा पर्ने अवस्था अन्त्य गर्न आचारसंहिता समेत बनाएको उनले बताए।
'गाउँले बीचमा साना विषयमा द्वन्द्व हुने गर्छ, एकीकृत बस्ती लाइनमा बनाउँदा कसैले कसैको सामान चलाइदिने वा कसैको हराउने हुन सक्ने देखेर हामीले आचारसंहिता समेत बनायौँ, ' उनले भने, 'आचारसंहिता सर्वसम्मतले तयार पनि भयो, उल्लघंन गरे कारवाही गर्ने प्रावधान पनि राखियो।'
 
'कसैले केही हरायो भनेपछि त्यसलाइ रेकर्डमा राख्ने पछि बदमासी फेला भएमा पहिला चोरी भएका सामानको समेत तिर्नुपर्ने प्रावधान राखियो, यो चोरी निरुत्साहित गर्ने प्रयास हो,'

उनले गाउँको घरमा अगाडि र पछाडि दुई ढोका बनाउने तयारी गरिएको बताए। 'कसैले नराम्रो काम गरे उसलाई अगाडिको ढोका प्रयोगमा निलम्बनमा पर्ने पछाडिको ढोका निश्चित समय प्रयोग गर्नुपर्ने प्रावधान राखियो', उनले भने।

गाउँमा दुई परिवार वा दुक्ष पक्षबीच विवाद हुँदा कतिपय मानिस तर्कने गरेको विषयमा समेच आचारसंहिता बनाइएको उनले बताए।
 
'विवादास्पद विषयमा नो भोट मा बस्न नपाउने। जे सुकै गर तिमीहरु दुई जना भन्न नपाइने। कसैले विवादमा नखेलोस् भनेर हामीले आचारसंहिता बनायौँ,' उनले भने।
 
'योजना सबै तयार छ, तर पूर्वाधारमा थोरै बजेट सहयोग पाए काम अगाडि बढ्ने थियो,' उनले भने, 'राज्यले दिने भनेको तीन लाख पाएपछि पनि त्यहीँ एकीकृत बस्ती बसाउने योजना छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell