PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

​जुडोका 'फाउण्डर' कानोको जन्मदिनको अवसरमा नेपालमा पहिलो पटक 'विश्व जुडो दिवस' मनाइयो



पहिलोपोस्ट

​जुडोका 'फाउण्डर' कानोको जन्मदिनको अवसरमा नेपालमा पहिलो पटक 'विश्व जुडो दिवस' मनाइयो

काठमाडौं : नेपालमा पहिलो पटक विश्व जुडो दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले आफ्ना सदस्य राष्ट्रलाई विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस मनाउन आव्हान गरे अनुरुप नेपाल जुडो संघले यो वर्ष शुक्रबार प्रभातफेरी आयोजना गरी विश्व जुडो दिवस मनाएको हो।

प्रभातफेरीको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रिबन काटेर उद्घाटन गरे। प्रभातफेरी त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ शहिद गेट, भद्रकाली, माइतीघर, थापाथलीहुँदै पुनः दशरथ रंगशालामा आएर कार्यक्रममा परिणत भएको थियो।

प्रभातफेरीमा पाम, केन्द्रीय डोजो, सीडब्लुसीएन, होप्याड, ओसिड, न्यु होराईजन, एमएमएसी, सीतु बोर्डिङ स्कुलका जुडो खेलाडी र पदाधिकारी, पारा जुडो खेलाडी, राष्ट्रिय जुडो खेलाडी, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठ र पदाधिकारी, प्रशिक्षकलगायत गरी करिब १ सय ५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वज्राचार्यले पहिलो पटक नेपालमा पनि जुडो दिवस मनाउन सुरु गरिएको र यसले आगामी दिनमा निरन्तरता पाउने बताए। उनले राजधानी मात्र नभइ नुवाकोट, रसुवा, पर्सा, कञ्चनपुर, झापालगायतका जिल्लामा पनि विभिन्न कार्यक्रम गरी जुडो दिवस मनाइएको जानकारी गराए।

अध्यक्ष वज्राचार्यले आईजेएफका विभिन्न १९६ सदस्य राष्ट्र र ५ महादेशीय महासंघले पनि विभिन्न कार्यक्रम गरी जुडो दिवस मनाएको जानकारी गराए।

आईजेएफले जुडोका जन्मदाता प्रोफेसर जिगारो कानोको जन्म दिन अक्टोबर २८ लाई विश्व जुडो दिवस मनाउने निर्णय गरेको थियो। सोही अनुरुप २०११ देखि विश्व जुडो दिवस मनाउन थालिएको हो। यो वर्षको विश्व जुडो दिवसको नारा ‘जुडो फर द वर्ल्ड’ रहेको छ।

यसैबीच विश्व जुडो दिवसका अवसरमा केन्द्रीय डोजोका प्रशिक्षक चन्द्र डंगोल र खेलाडीले स्व. कानोको तस्वीरमा खादा लगाइ कानोको स्मरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell