PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

वामपन्थीमाथि रामेश्वर खनालको कडा प्रश्न : भारतीय दलाल बन्नुभयो?



पहिलोपोस्ट

वामपन्थीमाथि रामेश्वर खनालको कडा प्रश्न : भारतीय दलाल बन्नुभयो?

काठमाडौं : एनेकपा माओवादी परित्याग गरी नयाँ शक्ति नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति नेपालसँग जोडिएका छन् पूर्व अर्थ सचिव रामेश्वर खनाल। भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा राजिनामा गरेर निस्किएका उनी त्यसपछि चुरो जोगाउने सरकारी निकायमा सक्रिय रहे। सरकार परिवर्तनपछि राजिनामा गरेका उनी बाबुराम भट्टराईसँग जोडिन पुगे।

नयाँ शक्तिमा थोरैमात्र छन् रामेश्वर खनालजस्ता ‘प्रोफेसनल’हरु। अधिकांश बामपन्थीहरुको पकड रहेको नयाँ शक्तिभित्रै रहेर उनले बामपन्थी सोचमाथि भने कडा व्यङ्ग्य गरेका छन्। प्रस्ट वक्ता र लागेको कुरा कुनै हिचकिचाहटविनै बोल्ने बानी परेका खनालको बामपन्थीमाथि कटू बचन भने भारतीय राष्ट्रपति नेपाल आउँदा बिदा दिने सरकारी निर्णयका कारण उब्जिएको हो। बामपन्थी दलहरुले दु:ख दिएको देखिका प्रसंग उठाउँदै उनले कडा प्रश्न गरेका छन्।

उनले सामाजिक सञ्जालबाट सोधेको प्रश्न यस्तो छ :  
जिन्दगीभर बामपन्थीहरूले भारतीय विस्तारवाद मुर्दावाद भनेर सिकाए। २०२६ सालमा सात कक्षा पढ्दा जवर्जस्ती जुलुसमा लैजान खोजे। त्यो शान्त तानसेन शहरमा जहाँ त्यो बेला गाइजात्राको रातमा देखाइने बास्सा (वाल्यकालमा त्यो शब्द बुझिएन होला, तर परिवारमा कसैको मृत्यू भएको छ भने उनको सम्मानमा गरिने सांस्कृतिक कार्यक्रम; यस्तै कार्यक्रम कालान्तरमा मैले इटालीका गाउँहरूमा देखें) बाहेक अरू केही नदेखेकाले जान्न भन्यौं।

धन्न कुटाई खाइएन। साना थियौं, माफी पायौं। तर ठुलाहरूले पाएको दुखको वर्णन करिब एक वर्ष सुन्यौं। गाउँ थियो, टिभी रेडियो थिएन। त्यही भएर श्रुतिकथ्य रमाइलो लग्थ्ग्यो।

वामपन्थ त्यसपछि झांगियो।

कहिले सुस्ता, कहिले कालापानी, कहिले लिपुलेक। सर्वत्र भारत विरोध। जो भारतसँग राम्रो सम्बन्ध राख्नपर्छ भन्थे ती दलाल कहलिए। अझै कहलिन्छन।

अहिले सब दलाल ठहरै भए।

भारतीय विस्तारवाद मुर्दावाद भन्नेहरूले सारा नेपाल र नेपालका विदेशस्थित कार्यालयहरूमा बिदा दिए।
अनि हामी बिदा बस्ने भयौं।

म बिदा पहिला पनि बसिन। अहिले पनि बस्दिन। मेरो लागि शरीरले दिएसम्म बिदा हुँदैन।
बहुत दु:खले एउटा सामान्य प्रश्न मात्र राखेको छु।

भारतीय दलाल मुर्दावाद भनेर नारा लगाउन सिकाएको तपाइँहरूले हो। अहिले तपाइँहरूले ती दलालले गरेको भन्दा राम्रो काम गर्नुभो?
कि नराम्रो?

प्रत्येक वामपन्थीले आफ्ना नेतालाइ यो प्रश्न सोद्धा राम्रै हुन्थ्यो।
 
खनालले राखेको प्रश्नको जवाफ दिनुपर्नेहरुको सूची लामो छ किनकि राजनीतिक हिसाबले नेपालमा सबैभन्दा वर्चश्व वामपन्थीहरुले नै राख्छन्। र, त्यो जवाफ दिनुपर्ने ‘ठूला’हरुको सूचीमा डाक्टर बाबुराम भट्टराई पनि पर्छन् जसको नेतृत्व स्वीकारेर खनाल राजनीतिमा सक्रिय रहँदै आएका छन्। 

उनको फेसबुक पोस्ट :
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell