PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

अनिकेतलाई टेस्ट गर्ने कनिकाको सोच



किशोर नेपाल

सुदिप्तीसँग अस्पतालको रिपोर्टिङ शेयर गरेर कनिका लाउन्जमा आराम फर्माइरहेकी थिइ। त्यति नै बेला उसको मोवाइल बज्यो। उसले फोन उठाइ। उताबाट आवाज आयो, ‘हाइ, म अनिकेत। दिस इज माइ प्राइभेट नम्वर। क्यान वी मीट समटाइम टूडे?’

कनिकालाई अचम्म लाग्यो। बडो चालु रहेछ डाक्टर। भेटेको एक हप्ता भएको छैन, लाइन मार्न थाली हाल्यो। कनिकाले जवाफ दिइ, ‘ओके। ह्वाट टाइम एण्ड ह्वेयर ?’ 

अनिकेतले जवाफ दियो, ‘कतै जाउँला नि। तपाईंलाई कहाँबाट पिक गरुँ म ?’

उसले अनिकेतलाई त्यही मोडमा आउन भनी जहाँ चार्ली उसलाई पीक अप गर्न आउँथ्यो मोटरसाइकल लिएर। 

उसको मनमा कुरा खेल्न थाल्यो, डाक्टरले किन बोलाएको हो? सोची मसँग फ्लर्ट गर्न खोजेको हो कि? के हो? उसले आफूलाई दह्रो बनाइ। त्यसपछि डाक्टरलाई दिने जवाफ खोज्न थाली। के डायलग बोल्ने होला ? कसरी बोल्ने होला ? ऊ सोच्दै थिइ, सुदिप्ती उसलाइ खोज्दै त्यहीं आइ पुगी। 

सुदिप्तीको दिमागमा कान्तिपुर शहरबारे विस्तृत रिपोर्टिंग गर्नुपर्ने योजना पाक्दै थियो। उसका साथीभाइहरुले शहरको वर्तमान स्थितिको अध्ययनका लागि पैसा जुटाएका थिए। उनीहरुले सुदिप्तीलाई यो कुरा भनेपछि सुदिप्ती तातेकी थिइ। किनभने, यसको स्पोन्सरसिपबाट मनग्गे पैसा आउने सोचेकी थिइ उसले। 

शहरका समस्याहरुको रिपोर्टिंग गर्दा फोकस गर्नुपर्ने क्षेत्र थुप्रै थिए। शहरको नाली व्यवस्थापनदेखि सडक बत्तीसम्म, जताततै नागरिक सुविधाको अभावबाट रिपोर्टिंग शुरु गर्ने कि ? के गर्ने ? कन्फ्युज्ड थिइ सुदिप्ती। 

कान्तिपुरका नगर व्यवस्थापकहरुले नागरिक सुविधाको अलिकति पनि ख्याल राखेका छैनन्। यति ठूलो भै सक्दा पनि शहरको कुनै मोडमा मानिसले आफूलाई फ्रेस गर्ने शौचालयको व्यवस्थासम्म छैन। भन्न चाहीं एक्काइसौँ शताव्दीको शहर भन्ने, सुविधा चाहीं उन्नाइसौँ शताव्दीको दिने।
 
सुदिप्तीले कनिकासँग यो कुरा शेयर गरी। कनिका जस्तोसुकै रिपोर्टिंगका लागि पनि तयार थिइ। अल्वेज स्ट्याण्डबाई। तर, यो सानातिनो प्रोजेक्ट थिएन। कनिका एक्लैले पूरा रिपोर्टिंग भ्याउने कुरै थिएन। सुदिप्ती संकटमा थिइ। अफिसमा म्यानपावर ज्यादा थियो। थियो काम–पावरको कमी। मानिस हायर गर्न पनि भन्ने बित्तिकै को पाउनु ? भएकाबाट कसलाई लगाउनु ?

कनिकाले सुझाव दिई, चार हप्ता त म तानी दिन्छु। तर, पुरै शहरको नालीबेली त त्यतिले तयार हुँदैन। म काम गर्न थाल्छु। तिमी रिपोर्टिङ गर्न सक्ने फ्रेस केटाहरु खोज्न थाल। काम सकिइ हाल्यो। ती केटाकेटीलाई काम लगाउन र तह लगाउन म छँदैछु।

कनिकाको प्रस्तावले सुदिप्ती ढुक्क भइ। तर, नयाँ मान्छे खोज्ने कुरा उसको बुताको कुरा थिएन। उसले यसका लागि समाचारपत्रका प्रिन्ट संस्करणमा विज्ञापन दिने कुरा सोची। तर, कनिकालाई यो कुरा बताइन। 

‘प्रोव्लेम सकिएन त ? ल अब मेरो कुरा सुन। यहाँ लाउन्जमा त भित्ताको पनि कान हुन्छ। कफी शपमा हिंड’ कनिकाले भनी। त्यसपछि उनीहरु कफी शपतिर लागे।

कनिकाले डाक्टर अनिकेतले फोन गरेको कुरा सुनाइ सुदिप्तीलाई। अनिकेतको सौन्दर्यको बखान त हिजै गरेर भ्याइसकेकी थिइ उसले। त्यसपछि उसले आफनो ‘हाले दिल’ पनि बताइ। चार्लीसँग विकसित भएको गहिरो सम्वन्धमा कुनै असर नपरोस् भन्ने पनि थियो उसलाई। साथै, अनिकेतसंग केही समय फ्लर्ट गर्ने मन पनि थियो। एक मनले ऊ चार्लीलाई धोका दिने पक्षमा थिइन भने अर्कोतिर अनिकेत नामको निषेधको फल नचाखेसम्म चित्तै नबुझ्ने भएको थियो। 

सुदिप्तीले कनिकाका सबै कुरा सुनी। ऊ आफूले चाहेको कुनै पनि कुरा नगरी नछोडने स्वभावकी थिइ। उसलाई दुनियाँको कुनै मतलब थिएन। उसले कनिकालाई सुझाव दिइ, ‘हेर कनि, मेरो स्वभाव त तँलाई थाहै छ। मलाई त आफूलाई लागेपछि लाग्यो लाग्यो। अहिले यहाँ चार्ली छैन। तँ उसलाई नपाएर नियास्रिएकी छेस। अब यो डाक्टर आएको छ। यसलाई पनि टेष्ट गर। केही बिग्रिने होइन। यो चार्लीलाई धोका दिएको नभएर इमर्जेन्सी म्यानेज गरेको कुरा हो भन्ने सोच। सती सावित्री बनेर हिँडछु भने तेरो च्वाइस हो। मीरा बाईको जस्तो एकतारे बजाएर हिंडछेस भने पनि हिँड।’

कनिकालाई उसको कुरा ठिकै लाग्यो। केटाहरुसँग संगत गर्दैमा बिग्रिने कुरा केही थिएन। शरीरको लिमिटेसन ननाघे भै हाल्यो। त्यो नाघेछ नै भने पनि के भो त ?
 
उसले अनिकेतलाई फोन गरी उसको घर छेउको मोडबाट अनिकेतले उसलाई पिकअप गर्ने भयो। ऊ घर पुगी र आफ्नो ओछ्यानमा लम्पसार परी।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
 
यो सिरिजका अन्य गाथा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell