काठमाडौं: एक्शन हिरो निखिल उप्रेती अभिनित फिल्म ‘किङ्ग' युनिटले नयाँ प्रदर्शन मिति तय गर्यो। सविर श्रेष्ठ निर्देशित फिल्म पुस २९ गतेबाट अल नेपाल रिलिज हुने भएको हो। फिल्म निर्देशकका अनुसार माघ एकको अवसर पारेर फिल्म रिलिज हुने भएको हो।
रिलिज मिति घोषणासँगै यही हप्ताबाट फिल्मको प्रचार प्रचार सुरु गर्ने निर्माता जयन श्रेष्ठले जानकारी दिए। एक्सन लभ स्टोरी फिल्म ‘किङ्ग’मा निखिलको साथै नायिका वेनिशा हमालको मुख्य भूमिका रहेको छ। फिल्ममा अनुपबिक्रम शाही, रुपा राना, जगन श्रेष्ठ लगायतको पनि अभिनय देख्न सकिन्छ।
दसैंको छेकोमा रिलिज हुने भनिए पनि 'किस्मत २' र 'सुब्बा साब'सँग फिल्म किङ्गले व्यवसायिक प्रतिस्पर्धा आँटेन। तर नयाँ रिलिजमा किङ्गसँगै पर्दामा उत्रिदैछ अर्को फिल्म पनि।
पुस २९ बाट नै प्रदर्शनमा आउँदैछ फिल्म ‘कारखाना’। फिल्मको फस्टलुकसँगै रिलिज मिति सार्वजनिक गरिएको थियो।
फिल्ममा वर्षा राउत र सुशील श्रेष्ठको मुख्य अभिनय रहेको छ। अन्य कलाकार जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायतको अभिनय देख्न सकिन्छ।
अमरद्वीप सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा विवाहको मण्डपबाट भागेकी केटीको जीवन कथा उतारिएको बताइएको छ।
दयाराम दाहाल, सुशील पोख्रेल र निर्देशक स्वयंमको पटकथा तथा संवाद जोडिएको फिल्मलाई निरज कंडेलले खिचेका हुन्।