काठमाडौँ : दीपावलीका अवसरमा शुक्रबार दुई फरक धारका नेपाली फिल्म ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैसाथ प्रदर्शनमा आउँदै छन्। त्यसैगरी नेपाली हलहरुमा बलिउडको 'ऐ दिल है मुश्किल' पनि प्रदर्शनमा आउँदैछ।
शिव शर्माद्वारा पहिलोपटक निर्देशित फिल्म ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित छ। यसअघि निर्देशक शर्मा लामो समयदेखि नृत्य निर्देशक पेसामा आबद्ध थिए।
त्यस्तै ‘राधा’ योगेश घिमिरेको निर्देशनमा बनेको प्रेम कथामा आधारित छ। यो फिल्ममा केहीकेही हास्य रस पनि समावेश गरिएको छ। ‘राधा’मा प्रेम कथालाई मुख्य विषय बनाएको भए पनि नेपाली नारीको सङ्घर्ष र पीडालाई पनि समावेश गरिएको निर्देशक घिमिरेले बताए। फिल्मको कथा भने प्रदीप भारद्ववाजले लेखेका हुन्।
यता ‘परदेशीको उमङ्ग’को करिब ८० प्रतिशत छायाङ्कन संयुक्त अरब इमिरेट्सको दुबई र बाँकी काठमाडौंँ, बाग्लुङ र गुल्मीमा गरिएको छ । चलचित्रका निर्मातासमेत रहेका कुमार जिसीको यसमा मुख्य भूमिका रहेको छ । त्यस्तै बिनिता बराल, रामबाबु रेग्मी, सिपी पौडेल, शिला श्रेष्ठ आदि कलाकारको अभिनय छ ।
चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीतको साथमा भारतीय गायक नाकाश अजिजको समेत पार्श्व गायन छ ।
त्यसैगरी रु ७२ लाखको लागतमा निर्माण भएको चलचित्र ‘राधा’ पूर्वको झापा र इलामसँगै भारतको दार्जिलिङमा समेत छायाङ्कन गरिएको छ।निर्देशक घिमिरेका यसअघि ‘नोटबुक’, ‘भुल भूलैया’ जस्ता चलचित्र प्रदर्शनमा आइसकेका छन्।
त्यसैगरी बलिउडतर्फ यो साता रणवीर कपुर र ऐश्वर्या रायको हट सिन रहेको भनी पहिलेदेखि चर्चामा आएको फिल्म ऐ दिल है मुश्किल प्रदर्शनमा आएको छ। करण जौहरको निर्देशनमा बनेको यो फिल्ममा अनुश्का शर्मा पनि मुख्य भूमिकामा रहेकी छिन् भने शाहरुख खान र आलिया भट्टसमेत केमियो एपियरेन्समा देखिन्छिन्। ७० करोड भारुको लगानीमा बनेको फिल्म पाकिस्तानी कलाकार फवाद खानलाई खखेलाएको भनेर प्रदर्शनमा ल्याउन नदिने भन्दै विवादमा परेको थियो। राससको सहयोगमा