काठमाडौँ : सल्यानको छायाँ गाउँमा गत वैशाखमा एउटै परिवारका चार सदस्य आफ्नै घरभित्र मृत अवस्थामा फेला परे।
घटना प्रकृति हेर्दा हत्या गरिएको देखिन्थ्यो। तर अपराधीसम्म पुग्न प्रहरीले कुनै क्ल्यु भेट्टाउन सकिरहेको थिएन। के गर्ने, के गर्ने !
भुन्टी !
भुन्टी अर्थात् डेढ वर्षको जर्मन सेफर्ड जातको प्रहरीको कुकुर। अनुसन्धानलाई सघाउन भुन्टीको भर पर्नुपर्ने भयो। भुन्टीलाई मध्यपश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट घटनास्थल पुर्याइयो। घटनास्थलमा भेटिएको गाई बाँध्ने किलो सुँघाइयो र छाडियो।
एकैछिनमा कुकुरले केही पर रहेको छिमेकीको घरमा गई १८ वर्षीय सञ्जय भारतीलाई संकेत गर्यो। यही संकेतको आधारमा प्रहरीले भारतीलाई अनुसन्धानको दायरामा ल्यायो। नभन्दै उनले हत्या गरेको स्वीकार्दै बयान दिए।
- सम्बन्धित समाचार : 'भुन्टी'ले पत्ता लगाई चार हत्याका आरोपी
भुन्टी त एउटा उदाहरण मात्रै हो।
केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रकी प्रमुख एसपी डा. देउती गुरुङका अनुसार अहिले समाजमा घट्ने जटिल किसिमका अपराध पत्ता लगाउन प्रहरीको कुकुरको आवश्यकता बढ्दै गएको छ।
अहिले नेपाल प्रहरीसँग ट्रयाकर डग, लागू औषध पत्ता लगाउने, विस्फोटक तथा हातहतियार पत्ता लगाउने, गस्ति, सुरक्षा, खोजी एवम् उद्दार गरी विभिन्न ६ विधामा काम गर्ने कुकुरहरु रहेका छन्।
नेपाल प्रहरीसँग देशभर ७१ वटा तालिमप्राप्त कुकुर छन्। ती मध्ये काठमाडौँको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा ४१ वटा छन्।
सबैभन्दा बढी २८ वटा जर्मन सेफर्ड छन्। यो जातका कुकुर लागू औषध, हातहतियार, विस्फोटक पदार्थ, सुरक्षा गस्ती लगायत सबै विधामा उपयोग हुन्छन्।
त्यस्तै ११ वटा ल्याब्राडोर जातका कुकुर हातहतियार र लागू औषध पत्ता लगाउन मात्र प्रयोग हुन्छन्। प्रहरीसँग दुई वटा ककर स्पानियल जातका कुकुर पनि छन्।
एक वर्षभित्र प्रहरीसँग भएको तथ्याङ्क हेर्ने हो भने लागू औषध र विस्फोटक पदार्थ छानबिनको लागि झन्डै १ सय ६० प्रतिशतले तालिमप्राप्त कुकरको माग बढेको छ।
केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका डिएसपी प्रमोदराज भट्ट भन्छन्, 'अहिले धेरै घटनामा प्रहरीलाई भन्दा पनि तालिमप्राप्त कुकुरलाई नै विश्वास गर्ने गरेको पाइन्छ। कतिपय घटनामा त पीडितले कुकुर नल्याएसम्म शवसमेत उठाउन नदिने गरेका छन्।
कुकुर प्रयोग भएका घटनाको परिणाम पनि सकारात्मक भएकाले कुकुरको प्रयोग बढेको हो। अहिले कुकुरलाई तालिम दिन ८ जना प्रहरीहरु रहेका छन्।
मुन्नीदेखि लैलासम्म नाम
तालिम केन्द्रमा रहेका कुकुरहरुको नाम रोचक छ। डिएसपी भट्ट भन्छन्, 'जति छोटो नाम भयो त्यति पहिचान गर्न सजिलो भएकाले छोटो नाम राख्ने गरको छौँ।अहिले यहाँ भुन्टी, काली, जंगे, माया, मुन्नी, रानी, साथी, सन्जु, लैला, गंगा, रोनी, लियो लगायत नामका कुकुर रहेका छन्।
कसरी दिइन्छ कुकुरलाई तालिम?
नेपाल प्रहरीले भारत, थाइल्यान्ड लगायतका देशबाट कुकुर ल्याउने गरेको छ। ६ महिनापछि कुकुरलाई तालिम दिन थालिन्छ।कुकुरलाई तालिम गराउन सक्षम प्रहरी जवानलाई ह्यान्डल गरिन्छ। एउटा कुकुरलाई एक जनाले नै ह्यान्डल गर्ने गर्छन्। कुकुरले जसले तालिम दियो उसैको मात्र निर्देशन मान्ने गर्दछ।
कुकुरलाई बिहानै खोरबाट निकालिन्छ, अनि दिसापिसाब गराइन्छ। त्यसपछि करिव १ घण्टा शारिरिक व्यायाम दिइन्छ। दैनिक लागू औषध, हातहतियार लुकाएर खोज्न लगाइन्छ।
दैनिक ३० मिनेट कुकुरलाई मसाज समेत गराइन्छ। बिहान १० बजेतिर खाना खुवाइन्छ। १२ बजेसम्म खोरमा आराम गराएर फेरि दिउँसो २ बजेसम्म अभ्यास गराइन्छ। दिउँसो ४ बजे खोरबाट निकालेर अभ्यास गराई साँझ दिशापिसाव गराई खोरमा राखिन्छ।
के खान्छन् कुकुरले ?
तालिम प्राप्त कुकुरलाई दैनिक डग फुड खुवाइन्छ। एउटा स्वस्थ कुकुरलाई १ केजी तौल बराबर १ सय ३२ क्लोरिनको आवश्यकता पर्छ। एउटा कुकुरले दैनिक ६ सय ग्राम खाना खान्छ। एकदिनमा कुकरले ३ सय रुपैयाँ बराबरको खाना खान्छ।आज कुकुर तिहारको दिन तालिम केन्द्रका कुकुरहरुको सामूहिक पूजा गरिँदैछ।