काठमाडौं : तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ। घरको सुरक्षा गर्ने चौकीदारको रुपमा मानिने कुकुरको पूजा गरी आज मिठो खानेकुरा दिइन्छ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खानेकुरा दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास पनि छ।
वैवस्वत मन्वन्तरका कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास रहँदै आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्या समेत बढ्न थालेको छ।
आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधि समेत रहेको गौतमले बताए। यसरी बत्ती बालेर बगाउनालाई नरके बगाउने पनि भनिन्छ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर घरमा यम परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ। यी पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलन समेत छ।