काठमाडौं : नेपाली आकाशमा विगत एक दशकमा साना/ठूला जहाज, हेलिकोप्टर एवं अल्ट्राफ्लाइट गरी २७ विमान दुर्घटना भएका छन्। ती दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७१ पुगेको छ।
हेलिकोप्टर दुर्घटना भएर मृत्यु हुनेको संख्या ३३ छ भने आकाशमा मनोरञ्जनका लागि उडाइने अल्ट्राफ्लाइट दुर्घटना भएर सन् २०१३ मा पोखराको शान्ति स्तुपामा दुई जनाले ज्यान गुमाएका थिए। सन् २०१५ मा अर्को अल्ट्रालाइट दुर्घटनामा परी दुई जना अझै हराइरहेका छन्।
नेपाल हवाई उड्ययन प्राधिकरणले सन् २००६ देखि २०१५ सम्मको अवधिमा ठूला जहाजभन्दा पनि साना एयरक्राफ्ट धेरै दुर्घटनामा परेको तथ्य सार्वजनिक गरेको हो। प्राधिकरणले प्रकाशित गरेको हवाई सुरक्षा प्रतिवेदनमा यो तथ्याङ्क उल्लेख छ। प्रतिवेदन सार्वजनिक गर्दै पर्यटनमन्त्री जीबनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने जानकारी दिए।
नेपालमा सवैभन्दा धेरै दुर्घटना हुने कारण 'कन्ट्रोल्ड फ्लाइट इनटु टरेन' (सिएफआइटी) रहेको प्रतिवेदनमा उल्लेख छ। यो कारण दुर्घटनाको सम्भावना ४२ प्रतिशत र दुर्घटना भएर मृत्यु हुने सम्भावना ६४ प्रतिशत रहेको उल्लेख छ।
विभिन्न दुर्घटनापश्चात् गठित आयोगले दिएका सुरक्षा मजबुतीका सुझाव ७० प्रतिशत मेल खाने जनाइएको छ। त्यसैले जाँचबुझ आयोगले दिएको प्रतिवेदनका सुझाव पालना गर्ने हो भने ७० प्रतिशत दुर्घटना न्युनीकरण हुने उल्लेख छ।
हालसम्मका २० प्रतिशत दुर्घटना भने जाँजबुझ आयोगले देखाएका भन्दा फरक कारणले भएका छन्।