
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न पहल थाल्ने बताएका छन्।
प्रचण्ड सभासद् निर्वाचित भएको सिरहा क्षेत्र– ५ को प्रतिनिधि मण्डलबाट आज ज्ञापनपत्र बुझ्दै सिरहाको विकासमा आफूले सक्दो पहल गर्ने उनले बताएका हुन्।
उनले सिरहा जिल्लाकै विकास निर्माणका लागि आफूले विभिन्न योजना अघि सारेको बताउँदै सिरहा, सप्तरी, उदयपुर लगायतका जिल्लालाई पायक पर्ने गरी एक विमानस्थलको निर्माणमा पहल गर्ने जानकारी गराए।
उनले सिरहामा खानेपानी, सडक, कृषि, स्वास्थ्य चौकी, क्याम्पस आदिका लागि पनि आफूले पहल गरेको बताएको उनको सचिवालयले जनाएको छ।
भेटमा पूर्वमन्त्री विश्वनाथ शाह, क्याप्टेन देवकुमार लामासहितको प्रतिनिधि मण्डलले सिरहाको विकास निर्माणमा ध्यान दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेको थियो।