काठमाडौं : बहिर्गमित जनमुक्ति सेनाले देशमा आमूल परिवर्तनका लागि आफूहरुले ज्यानको बाजी थापेर मुक्तिको लडाइँ लडेको भन्दै आफूहरुमाथि लागेको अयोग्यको बिल्ला तत्काल हटाउन माग गरेका छन्।
अयोग्य पदावलीको प्रयोग गर्न बन्द गरी आफूहरूको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गर्न सरकारसँग माग गरेका छन्।
जनमुक्ति सेनाका सुनिल लिम्बू, रमेश बसेल, सोमलाल घलान, प्रदीप कार्की, सम्राट, कोपिला किराँती तथा रश्मि गुरुङले एक विज्ञप्तिमा बहिर्गमनमा परेका ४ हजार ९ जनालाई जनसेना सरहको व्यवहार गरी उनीहरूका माग सम्बोधन गर्न आग्रह गरिएको छ।
बाल सैन्यका लागि उनीहरूको शिक्षा पाउने विशेष अधिकार खोसिएकाले सरकारले उनीहरूको व्यावहारिक चासो सम्बोधन गर्ने गरी सामाजिक न्यायमा आधारित भएर एकमुष्ट सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर शिक्षा दिने काम गरियोस् भनी माग गरिएको छ।
पक्राउ परेका बहिर्गमित जनसेना तत्काल बिना सर्त रिहा गर्नुपर्ने, घाइते, मानसिक रूपमा बिरामी र आघातमा परेका तथा अशक्तलाई सरकारले तत्काल औषधि उपचार, तथा विशेष आर्थिक सहयोग कार्यक्रम तत्काल ल्याउनुपर्ने पनि उनीहरुको माग छ। रासस