काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँगको सम्बन्ध कहिलेदेखि बिग्रिएको भन्ने बारे शनिबारको पत्रकार भेटघाटमा केही खुलाएका छन्।
लोकमानलाई प्रचण्डकै पहलमा प्रमुख तीन दलको सहमतिमा चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सिफारिशमा तत्कालीन राष्ट्रपति रामवरण यादवले नियुक्त गरेका थिए।
प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिमा उनको योग्यताबारे प्रश्न उठाइएको मुद्दा पुनरावलोकन गर्ने फैसला गरेको केही घण्टामै अख्तियारले आफ्नो कार्यालयमा हतारमा पत्रकार सम्मेलन गरी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन सुरु गरिएको बताएको थियो।
त्यतिबेला प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणमा थिए। 'राष्ट्रका प्रधानमन्त्रीको राजकीय भ्रमणका बेला जुन खाले पत्रकार सम्मेलन भयो, त्यो अस्वभाविक थियो', प्रमले भने, 'तर त्यही कारणले मात्रै महाभियोग लगाइएको हैन।'
'समग्र क्रियाकलापका आधारमा महाभियोग लगाइएको हो', उनले स्पष्ट गरे।
महाभियोगको विषयमा राष्ट्रिय समझदारी बनाउने प्रयास जारी रहेको जानकारी उनले दिए। प्रमुख दलहरुको सहमतिमा नै यो होस् भन्नेमा आफ्नो जोड रहेको उनले बताए।