PahiloPost

Jun 15, 2026 | १ असार २०८३

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा, साँझदेखि भैलो सुरु



पहिलोपोस्ट

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा, साँझदेखि भैलो सुरु

काठमाडौं : यमपञ्चकको तेस्रो दिन आज देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज साँझ घरको वरिपरि सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङ लगायतका ठाउँमा झिलिमिली बत्ती बालिन्छ।
 
लक्ष्मीपूजा गर्नका लागि आज बिहानैदेखि सबैले घरघरमा सरसफाइ गरिरहेका छन्।
 
आजको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ। साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो एवं अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ।
 
गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन्।
 
लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ। लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।आज साँझ नै महिलाहरु समूहमा घरघरमा भैलो खेल्न हिँड्छन्। यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ।
 
सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell