
इंगलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा ठूला टीमहरु म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुलले शानदार जित हात पारेका छन्।
यता यस सिजन अपराजित रहेको टोटनहम हट्सपरले फेरि बराबरी खेल्दै अपराजित यात्रा कायम राखेको छ।
सिटी, आर्सनल र लिभरपुलले जितपछि १० खेलबाट समान २३ अंक जोडेका छन्। तर गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा छ भने आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा छ।
सर्जियो अगुएरो फर्ममा फर्किएपछि सिटीले वेष्ट ब्रोमिच अल्विओनलाई उसैको मैदानमा ४-० ले हरायो। सबैखाले प्रतियोगितामा गरेर लगातार ६ खेलमा जितविहीन रहेको सिटीलाई शानदार जित दिलाउन अगुएरोले २ गोल गरे भने अन्तिम १० मिनेटमा एकाए गुन्डागोनले २ गोल गरे।
यस्तै आर्सनलले सण्डरल्याण्डललाई उसैको मैदानमा ४-१ ले हरायो। आर्सनलको जितमा एलेक्सिस सान्चेज र ओलिभर जिरुडले समान २ गोल गरे। सण्डरल्याण्डको लागि जर्मेन डेफोले सान्त्वना गोल फर्काए।
लिभरपुलले पनि क्रिस्टल प्यालेसलाई उसैको मैदानमा ४-२ ले पराजित गरेको छ।
लिभरपुलका लागि एम्रे कान, लेजान लोभरेन, जोएल मातिप र रोवर्टो फिर्मिन्होले १/१ गोल गरे। प्यलोसका लागि म्याक अर्थरले २ गोल गरे पनि त्यो हार टार्न पर्याप्त रहेन।
शीर्ष स्थानको टीमले शानदार जित हात पारेको दिन सिजनको एक्लो अपराजित टोटनहमले साविक विजेता लेस्टर सिटीसँग १/१ गोलको बराबरी खेलेको छ।
भिनसेन्ट जानसेनको गोल मार्फत टोटनहमले पहिले अग्रता लिएको थियो। लेस्टरका तर अहेमद मुसाले गोल फर्काएपछि खेल १-१ को बराबरीमा सकिएको हो। बराबरीपछि टोटनहम २० अंक सहित चौथो स्थानमा छ। टोटनहमको यस सिजन यो पाँचौ बराबरी हो।
यता म्यानचेष्टर युनाइटेड घरेलु मैदानमै बर्नलेसँग गोलरहित बराबरीमा रोकिएको छ। युनाइटेड बराबरीमा रोकिएको फाइदा उठाउँदै हल सिटीलाई १-० ले पराजित गरेको वाटफोर्ड १५ अंकसहित सातौं स्थानमा उक्लेको छ। समान १५ अंक नै रहेको युनाइटेड भने गोलअन्तरमा आठौं स्थानमा झरेको छ।