नवलपरासी : नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमका घटना न्युनीकरणका लागि नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त रुपमा सुरक्षा गस्ती गरिएको छ।
तिहारको समयमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सीमा सुरक्षा बल र भारतीय प्रहरीको टोलीले संयुक्त रुपमा गस्ती गरेको हो।
सीमा क्षेत्रमा चाडबाडका समयमा हुन सक्ने खतरालाई मध्यनजर गरी दुवै क्षेत्रका सुरक्षाकर्मीको पहलमा संयुक्त सुरक्षा गस्ती गरिएको हरपुरस्थित सशस्त्र प्रहरी बेसक्याम्पका प्रहरी प्रमुख सशस्त्र प्रहरी निरीक्षक रवीन थापाले बताए।
नवलपरासीमा तिहार लगायतका चाड नजिकिँदै गर्दा विशेष सुरक्षा योजना लागू गरिएको छ। जनतालाई चाडबाडका बेला थप शान्ति सुरक्षा काम गरी सुरक्षाको दृष्टिकोणलाई विशेष सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए।
जिल्लामा आवश्यकता अनुसार सुरक्षा चेकजाँच, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी शान्ति सुव्यवस्थाको काम गरिएको सीमा सुरक्षा बल बेलासपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक टङ्क खड्काको भनाइ छ।
नवलपरासीमा यस पटकको तिहारमा कुनै पनि अप्रिय घटना घट्न नदिन स्थानीय प्रशासनले उच्च सतर्कता अपनाइसकेको छ। नवलपरासीमा करिब ९९ किलोमिटर पूर्व पश्चिम राजमार्गको क्षेत्र रहेको छ।रासस