PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

आज लक्ष्मी जयन्ती, महाकवि देवकोटाको सम्झना



पहिलोपोस्ट

आज लक्ष्मी जयन्ती, महाकवि देवकोटाको सम्झना

काठमाडौं : नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७औं जन्मजयन्ती आज मनाइँदैछ। स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उनको सम्झना गरिँदैछ।
 
नेपाली साहित्यका विराट प्रतिभा मानिने देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औंसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो।
 
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो।
 
सानै उमेरदेखि कविता लेख्न थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।
 
नेपाली साहित्यमा उनी स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक पनि हुन्। देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।
 
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए। नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।
 
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए।
 
२०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन्।
 
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने क्षमता थियो। भनिन्छ- उनी एकपटक लेखिसकेको सिर्जनालाई पुन: साफी गर्दैनथे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell