
क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि रियल मड्रिडले ला लिगामा गएराति भएको खेलमा अलाभेसलाई पराजित गरेको छ।
रोनाल्डो फर्ममा फर्केपछि रियलले रवाफ देखाएको दिन ठूला क्लब बार्सिलोना र एथ्लेटिको मड्रिडले पनि जित हात पारेको छ। सेभिया भने बराबरीमा रोकिएको छ।
१ गोलले पछि परे पनि रियलले अलाभेसलाई उसैको मैदानमा ४-१ गोल अन्तरले हराएको हो। रियलको जितमा रोनाल्डोले ह्याट्रिक गर्दा अल्भारो मोराटोले एक गोल गरे। ह्याट्रिक गरेका रोनाल्डोले एक पेनाल्टीको अवसर चुकाएका थिए।
डेभरसनले घरेलु मैदानमा अलाभेसलाई पहिले अग्रता दिलाए पनि त्यसलाई कायम राख्न सकेन।
जितपछि १० खेलबाट २४ अंक जोडेको रियल शीर्ष स्थानमा कायमै छ।
रोनाल्डोले रियललाई जिताउँदा बार्सिलोनाले भने कठिन जित हात पारेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १-० ले हरायो। बार्सिलोनालाई जित दिलाउन रफिन्हाले निर्णायक गोल गरे।
जितपछि १० खेलबाट २२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ।
यता १०/१० खेलाडीमा रहेर खेलको अन्त्य गरेको खेलमा एथ्लेटिको मड्रिडले मालागालाई ४-२ ले हरायो। दुवै टीमका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए।
एथ्लेटिकोको जितमा यानिक कारास्को केभिन गमेइरोले २/२ गोल गरे। मालागाका सान्ड्रो रामिरेज र इग्नासिओ कमाचोले १/१ गोल गरे।
एथ्लेटिकोका स्टेफान साभकि र मालगाका गोन्जालो कास्ट्रोले रातो कार्ड पाएका थिए।
जितपछि एथ्लेटिको २१ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ।
अर्को खेलमा सेभिया स्पोर्टिङ गिहोनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
डारियो भिएट्टोले खेलको सुरुवातमै सेभियालाई अग्रता दिलाए पनि मोए गोमेजले गिहोनका लागि बराबरी गोल फर्काएका हुन्।
बराबरीपछि एथ्लेटिको समान २१ अंक नै रहेको सेभिया चौथो स्थानमा झरेको छ।