
काठमाडौं : पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गर्ने विशेष पूजाको तयारी थालिएको छ।
यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए। 'राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिपट्टि बसी अभिषेकसहितको विशेष पूजा गर्नुहुनेछ,' उनले भने, 'मूलभट्ट गणेश भट्टले विशेष पूजा गराउनुहुनेछ।' २२ जना नेपाली वैदिक पण्डितले वैदिक रुद्राभिषेक गर्ने कार्यक्रम पनि रहेको टण्डनले बताए।
पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गर्ने कार्यक्रम छ। गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उनको स्वागत गर्नेछन्।
राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उनको स्वागतमा धिमेबाजा, पञ्चेबाजा लगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिनेछ।
पशुपतिमा विशेष पूजाको तयारीस्वरुप प्रवेशद्वारको निर्माण, सरसफाइ लगायत काम भइरहेको छ। विशेष पूजालाई ध्यानमा राखी पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।
भ्रमणलाई ध्यानमा राखी पशुपति क्षेत्रमा भइरहेको ढल बिछ्याउने एवम् भूकम्पपछिको पुनःनिर्माणलाई पनि थाती राखिएको छ। राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ। त्यसपछि कोषका तर्फबाट उनलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ।
भारतीय राष्ट्राध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लागेका हुन्। यसअघि पूर्वराष्ट्रपति केआर नारायणनले पशुपतिमा पूजा गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि २०७१ साउनमा पनि पशुपतिमा विशेष पूजा गरेका थिए।रासस