
दोस्रो काम खोज्नुस्, कम खानुस्, ग्याजेटमा खर्च कम गर्नुस्। यति गर्न सके तपाईँले केही बचाउन सक्नुहुन्छ जसबाट खर्चको आधार तयार हुनसक्छ। अथवा तपाईँ यसो पनि गर्न सक्नुहुन्छ जुन एक महिलाले गरिन् – आफ्नो आवश्यकता पूरा तर खर्च अरुकै।
चीनको सेन्जेनकी महिला सियओली (नाम परिवर्तन)ले आफ्ना २० प्रेमीसँग आइफोन सेभेन किन्न लगाइन् र जुटाइन् १४ हजार पाउण्डस्टर्लिङ।
उनले हरेक प्रेमीलाई फोन किन्न लगाइन् र एक वेबसाइटबाट ती फोनहरु बेचिन्। उनले सबै फोन बेच्दा १ लाख १५ हजार १० चिनियाँ युआन (१३ हजार ९ सय ९१ पाउण्ड) जुटाइन् र गाउँमा एउटा घर किनिन्।
सियओलीको कथा अहिले ब्लगिङ फोरममा चर्चित छ र मानिसहरु यसबारे गफ गरिरहेका छन्। प्राउड कियावाले ब्लगमा लेखेका छन् – अफिसमा सबै यसबारे कुराकानी गरिरहेका छन्। ती महिलाका हरेक प्रेमीहरुले अहिले के सोचिरहेका होलान्?
कियावाले सियओलीसँग काम गरिसकेको जनाएका छन्। उनका अनुसार ती महिला गरीब परिवारकी जेठी छोरी हुन्। उनकी आमा गृहिणी हुन् भने बाबु आप्रवासी कामदार।
‘उनका अभिभावक बुढाबुढी भइसकेकाले उनीमाथि घर बनाउनुपर्ने दवाव थियो… तर उनको पैसा कमाउने विधि त पत्याउनै नसकिने खालको छ,’ उनले लेखेका छन्।
उनले बोक्ने आइफोन अरुले चलाउन नसक्ने गरी लक गरिएको हुन्थ्यो।
उनले २० वटा आइफोन सेभेन एस प्रत्यकको ७ सय पाउण्डमा बिक्री गरेको ह्वी साउ वाओले पुष्टि गरे।
उनको यो कथा चिनियाँ सामाजिक सञ्जाल विबोमा व्यापक सेयर भएको छ जसमा १ करोड ३० लाख मानिसले कमेन्ट गरेका छन्। ह्यास ट्याग ‘२० मोबाइल्स फर अ हाउस’ मा यो सेयर भइरहेको छ।
कतिले उनलाई गाली गरेका छन् तर धेरैले उनको तारिफ गरेका छन्।
‘मैले एउटा व्वायफ्रेन्ड पाउन सकिरहेको छैन। उनले भने एकै समय २० जना पाउन सकिन् र सबैबाट एक/एक आइफोन किनाउन सकिन। मलाई यस्तै तरिका सिकाउन म उनलाई भेट्न चाहन्छु,’ एक महिलाले लेखेकी छिन्।