PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

घुमफिर वर्ष घोषणा भएको सात महिनापछि पर्यटन बोर्डले सार्वजनिक गर्‍यो 'घुमफिर प्याकेज'



पहिलोपोस्ट

घुमफिर वर्ष घोषणा भएको सात महिनापछि पर्यटन बोर्डले सार्वजनिक गर्‍यो 'घुमफिर प्याकेज'

काठमाडौं : नेपाल पर्यटन बोर्डले सरकारले घुमफिर वर्ष घोषणा गरेको सात महिनापछि घुमफिरका लागि प्याकेज सार्वजनिक गरेको छ।
 
घुमफिर वर्ष मनाउन थालिएको सात महिनापछि बोर्डले निजी क्षेत्रका संघसंस्थासँगको समन्वयमा प्याकेज बनाएको हो।
 
बोर्डले यी प्याकेज अक्टोबर २८ देखि आगामी अप्रिल १४ सम्मका लागि बनाएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिए। प्याकेजहरू नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा बनाएको हो।
 
बोर्डले तयार पारेको प्याकेजअन्तर्गत पहिलो चरणमा सात वटा गन्तव्य समेटिएका छन्। सगरमाथा अञ्चलका लागि हलेसी महादेव दर्शन टुर प्याकेज ल्याइएको छ। नाट्टासँगको सहकार्यमा यो प्याकेज निर्माण गरिएको हो।
 
त्यस्तै जनकपुर अञ्चलका लागि पनि छुट्टै प्याकेज निर्माण गरिएको छ। ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम भ्रमण गर्नका लागि पनि नाट्टासँगको सहकार्यमा गरिएको हो। बोर्डले कोसी अञ्चलका लागि पनि छुट्टै प्याकेज निर्माण गरेको छ। पाँच दिनको भ्रमण तालिका रहेको यो प्याकेजमा चताराधाम लगायत अन्य महत्वपूर्ण स्थानको भ्रमण गर्न सकिनेछ।
 
त्यस्तै छ दिनको टुर प्याकेज बनाएर मेची अञ्चलमा पाथिभरा मन्दिरको भ्रमणका लागि प्याकेज बनाइएको छ। ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल रहेको यो मन्दिरमा जाने बन्दोबस्त नाट्टाको सहकार्यमा हुने भएको छ।
 
घुमफिर बर्षको स्पेसल अफरका रुपमा बोर्डले सेती अञ्चलमा रहेको प्रसिद्ध ठाउँ खप्तड घुमाउने प्रबन्ध मिलाएको छ। नौ दिनको भ्रमण प्याकेज रहेको यो भ्रमणका लागि २५ हजार रुपैयाँ लाग्ने जनाइएको छ। बोर्डले यो भ्रमण साट्टो नेपालको सहकार्यमा गर्न लागेको जनाएको छ।
 
त्यस्तै लुम्बिनी स्वर्गद्वारी भ्रमणका लागि पनि घुमफिर प्याकेज बनाएको छ। छ दिनको यो प्याकेजका लागि प्रतिव्यक्ति १३ हजार पाँच सय रुपैयाँ रकम तोकिएको छ। यो प्यकेज साट्टो नेपालसँगको सहकार्यमा हुने जनाइएको छ।
 
अर्को स्पेसल अफरका रुपमा रारा ताल घुम्नका लगि प्याकेज बनाइएको छ। तीन वटा अप्सनमा बनाइएको यो प्याकेजमा जहाजवाट, जिप र जहाजबाट र गाडी र जिपवाट जान सक्नेगरी रुट मिलाइएको छ।
 
सुवेदीका अनुसार घुमफिर प्रमोशनका लागि व्यवसायीहरूको सहकार्यमा थप प्याकेजहरु निर्माण गरिने बताए। पदयात्रा, र्‍याफ्टिङ, होमस्टेलगायतका प्याकेज रहनेछन्। उनले यात्रा सम्बन्धी मोबाइल एप, इन्फ्रोग्राफिक्स, रेडियो सन्देश निर्माण गरी विभिन्न गन्तव्यको प्रचार प्रसार गर्ने काम अन्तिम चरणमा पुगेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell