काठमाडौँ : सिस्नुपानी नेपालले आइतबार प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले उपस्थितलाई हँसाए।
विषय थियो – सिस्नुपानीले देउसी भैली मार्फत गर्ने व्यङ्ग्य।
सुरुवातमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो छाला पातलो भएपनि सिस्नुपानीले नपोल्ने दावी गरे।
'मलाई लक्ष्मीले लात्ताले हानेर किनारा पारेकी छिन्। सिस्नुपानीले धेरैलाई चहर्यााएको होला। धेरैलाइ भतभती पोलेको होला। छाला धेरै पातलो भएपनि सिस्नुपानीले मलाई पोल्ने गरेको छैन।'
तर जब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बोल्ने पालो आयो, उनले पौडेललाई व्यङ्ग्य गर्दै सबैलाई हँसाए। अनि पौडेललाई पनि हौस्याए।
प्रचण्डले भने – 'रामचन्द्रजीले मलाई सिस्नुपानीले छुँदैन भन्नुभयो। प्रधानमन्त्री भएपछि थाहा पाउनुहोला।‘
प्रज्ञा भवन थर्कने गरी हाँसो मच्चिसकेको थियो, उनले अझै थपे, ‘अझ दोहोर्याएर भएपछि अझ बढी।'
विगतमा प्रधानमन्त्री निर्वाचनमा एक अर्काका प्रतिष्पर्धी रहिसकेका पौडेल र प्रचण्डबीचको दोहोरीले माहौललाई रमाइलो बनायो।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विगतमा संविधान बनाउने चुनौति भएको र अहिले संविधान कार्यान्वयनको चुनौती रहेको बताए।
'हिजो पनि हामी नेपाली सफल भयौँ, आज पनि हामी सफल हुनेछौँ।'
कार्यक्रममा सिस्नुपानीले नक्कली प्रधानमन्त्री प्रचण्ड र नक्कली पूर्व प्रधानमन्त्री केपी ओलीसमेत खडा गरेर व्यङ्ग्य गरेको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफ्नो सम्बोधनमा नक्कली र सक्कली प्रधानमन्त्रीलाई सम्बोधन गरेर हँसाए। 'सक्कली नकक्ली प्रधानमन्त्रीज्यू', ओलीले उच्चारण गरे लगत्तै हलमा हाँसो फैलियो।
'आउँदो लक्ष्मीपूजा र तिहारमा सिस्नुपानीले यी विषय भन्दा अर्कै विषय पाउन्। संविधान कार्यान्वयन अगाडि बढेको होस्,‘ उनले भने।
‘चुनावको मिति तोकियोस् भन्ने उहाँहरुको माग पूरा होस्', उनले थपे।