काठमाडौँ : केपी शर्मा ओलीको आफै संलग्न सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि दुई कम्युनिस्ट पार्टी प्रमुख पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीबीच आरोप प्रत्यारोपको लामो शृङ्खला नै चल्यो।
संसद्को रोष्टमबाटै दुवै नेताले एक अर्कालाई घोचपेच गरे र सार्वजनिक भाषणहरुमा पनि यो क्रम छाडेनन्।
पछिल्ला दिनहरुमा भने दुवै नेताबीचको सम्बन्ध सुध्रँदै गएको देखिएको छ। अख्तियार प्रमुख लोकमानसिह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव माओवादी केन्द्रले दर्ता गर्दा एमालेले समर्थन गरेको थियो।
आज बिहान रिपोर्टर्स क्लबको देउसी भैलो खेल्ने समूहसित प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रतिपक्षबीचको तिक्तता घटेको दावी गरे। दिउँसो उनी प्रज्ञा भवनमा आयोजित सिस्नुपानीको देउसी भैलो खेल्ने कार्यक्रममा पुगेका थिए जहाँ पूर्व प्रधानमन्त्री केपी ओली र कांग्रेस नेता रामचन्द्र पौडेल उपस्थित थिए।
त्यहीँ ओली र प्रधानमन्त्रीले हात मिलाए। कार्यक्रममा मन्तव्य दिने क्रममा पनि ओली र प्रचण्ड दुवैले एक अर्कालाई घोचपेच गरेनन्। बरु प्रचण्डले पौडेललाई व्यङ्ग्य गर्दै उपस्थितहरुलाई हँसाए।
संविधान संशोधन लगायतका विषयमा आज ४ बजे मधेसी मोर्चासँग औपचारिक वार्ता हुन लागेको उल्लेख गर्दै उनले अहिले सत्तापक्ष र प्रतिपक्षबीचको तिक्तता घटेको दाबी गरे। आफू अहोरात्र खटेर निर्वाचनको वातावरण बनाउन लागिपरेको उनको भनाइ छ।