तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजा विशेष हुन्छ। यो दिन बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज साँझ घरको वरिपरि सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङ लगायतका ठाउँमा दियो बालिन्छ। पछिल्लो समय बिजुली बत्तीको झिलिमिली पनि थपिएको छ। यो दिन देशै भर बिजुलीको माग अत्यधिक हुन्छ। काठमाडौँ उपत्यका पनि त आज अरु दिनभन्दा बढी नै उज्यालिन्छ। यो उज्यालो काठमाडौँ नजिकका डाँडाबाट स्पष्ट देखिन्छ। पहिलोपोस्टका फोटो संवाददाता इलिट जोशीले आज स्वयम्भूपछाडिको हल्चोक डाँडा पुगेर यो उज्यालोलाई क्यामेरामा कैद गरेका छन्।