PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

लक्ष्मीपूजाका दिन मापसे गरेका छोराद्वारा आमाको हत्या



रासस

गाईघाट : उदयपुर जिल्लाको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा गएराति लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमासँग झगडा गरेपछि धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका छन् । 

प्रहरी चौकी बेलस्रोतका अनुसार बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षीया फूलकुमारी सदालाई उनकै २२ वर्षीय छोरा कालीचन सदाले गएराति १२ बजे धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हो । 

कालीचनले टोलका साथीसँग भैलो खेलेर अत्यधिक मादक पदार्थ सेवन गरेर घरमा आएपछि आमासँग झगडा गर्न सुरु गरेको प्रहरी चौकी बेलस्रोतका प्रमुख प्रहरी निरीक्षक विक्रम लामाले बताए। 

आमासँग झगडा हुन थालेपछि घरभित्र रहेको धारिलो हतियारले कालीचनले आमाको टाउकोमा हानेपछि फूलकुमारीको रक्तश्राव भएर घटनास्थलमा नै मृत्यु भएको थियो । 

घटना घटेलगत्तै कालीचनलाई प्रहरी चौकी बेलस्रोतले राति नै पक्राउ गरेको छ भने फूलकुमारीको शव परीक्षणका लागि अहिले कटारी अस्पतालमा लगिएको प्रहरी चौकी बेलस्रोतका प्रमुख लामाले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell