पर्सा : पर्साको विभिन्न तीन ठाउँमा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ। लक्ष्मीपूजाका लागि बालिएको दियोबाट पर्साको हपुर गाविसमा र विद्युत्को तार सर्ट भई वीरगन्ज उपमहानगरपालिकाको दुई स्थानमा आगलागी भएको हो ।
तीनै स्थानमा भएको आगलागीमा परि रु ६२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
वीरगन्जको उपमहानगरपालिका–१३ आदर्शनगर स्थित टायर गोदाममा विद्युत्को तार सर्ट भई आज बिहान आगलागी हुँदा रु ६० लाखभन्दा बढीको ३०० थान टायर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय गोविन्द साहको टायर गोदाममा बिहान ३ः३० बजे सुरु भएको आगलागी वीरगन्ज उपमहानगरपालिका कार्यालयबाट गएको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ः३० बजे नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिए।
आगलागीमा परि रु २५ हजार प्रतिथान मोल पर्ने ३०० थान टायर जलेर नष्ट भएको व्यापारी साहले प्रहरीलाई जानकारी दिएको उपरीक्षक श्रेष्ठले बताए।
यसैबीच विद्युत् तार नै सर्ट भई वीरगन्ज उपमहानगरपालिका–८ लाठगलीमा रहेको विणयकुमार साहको कम्प्युटर पसलमा आगलागी भएको छ। करिब १२ः३० बजेबाट सुरु भएको आगलागी नगरपालिकाको बारुणयन्त्र र प्रहरीको सहयोगमा बिहान डेढ बजे नियन्त्रणमा लिइएको उपरीक्षक श्रेष्ठले जानकारी दिए।
आगलागीमा परी पसल भित्र र रहेको करिब रु ६० हजार मूल्य बराबरको कम्प्युटरका पार्टसलगायतका वस्तु जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
दीपावलीको पूजाअर्चना पछि घरभित्र बालेको दियोबाट आगो सल्किदा पर्साको हरपुर गाविस–६ निवासी राजकुमार यादवको घरमा आगलागी भएको छ।
आगलागीमा परी यादवको घरमा रहेको लत्ताकपडा, भाडा, अन्न, नगद तथा जिन्सी गरी रु एक लाख ६० हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
राति १२ः४५ बजेबाट सुरु भएको आगो स्थानीय बासिन्दा र नेपाली प्रहरीको सहयोगमा दुई घन्टापछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। रासस