
आर्सनल, पेरिस सेन्ट जर्मेन पिएसजी, वायर्न म्युनिख र एथ्लेटिको मड्रिड युरोपियन्स च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलमा स्थान बनाएको दिन बार्सिलोना भने म्यानचेष्टर सिटीसँग पराजित भएको छ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको दोस्रो लेगको खेलमा सिटीले बार्सिलोनालाई ३-१ ले हराएको हो। १ गोलले पछि परेको स्थिति उल्टाउँदै सिटीले क्याटलान क्लबविरुद्ध शानदार जित रचेको हो।
यसअघि पहिलो लेगको खेलमा सिटी बार्सिलोनाको मैदानमा ४-० ले हारेको थियो।
एतिहाड स्टेडियममा २१ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै भ्रमणकारी टोली बार्सिलोनालाई पहिले अग्रता दिलाएपनि त्यो लामो समय टिक्न सकेन।
३९ औं मिनेटमा सिटीका इकाए गुनडागोनले बराबरी गोल फर्काए। दोस्रो हाफमा सिटीले २ गोल थप्यो। ५१ औं मिनेटमा केभिन डे बु्रएनाले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए भने गुन्डागोनले ७४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ३-१ ले विजयी भयो।
जितसँगै सिटीका प्रशिक्षक पेप गोर्डिओलाले आफ्नो पूर्व क्लब बार्सिलोनाविरुद्ध पहिलो जित हात पारेका छन्।
जितपछि ४ खेलबाट ७ अंक जोड्दै सिटी समूह सी को अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। समान खेलबाट ९ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा कायमै छ।
सेल्टिकसँग १-१ गोलको बराबरी खेलेको जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाच ४ अंकसहित तेस्रोमा छ भने १ अंक रहेको सेल्टिक पुछारमा छ।
बार्सिलोना हारेको दिन एथ्लेटिको, आर्सनल वायर्न र पिएसजी भने आ आफ्नो खेल जित्दै २ खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।
समूह ए को खेलमा आर्सनलले २ गोलले पछि परेको स्थिती उल्टाउँदै लुडागोरेट्सलाई ३-२ ले हरायो। मेसुट ओजिलले खेल सकिन २ मिनेटअगाडि गोल गर्दै आर्सनललाई जिताएका हुन्। जोनाथान काफु र क्लायडिओ केसुरले गोल गर्दै लुडोगोरेट्सलाई अग्रता दिलाएपनि गा्रइन्ट जाका र ओलिभर जिरुडले गोल गर्दै खेल बराबरी गरेका थिए।
यसै समूहको अर्को खेलमा पिएसजीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको बासेललाई २-१ ले हरायो। पिएसजीका लागि खेलको अन्त्यतिर थोमस मुनिएरले निर्णायक गोल गरे। ब्लाइस मटुइडीले ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई पहिले अग्रता दिलाए पनि ७६ औं मिनेटमा बासेलका लागि लुका जुफीले बराबरी गोल फर्काएका थिए। तर ८४ औं मिनेटमा बासेलका सेरे डाएले रातो कार्डको सामना गरे पनि त्यसैको फाइदामा पिएसजीले गोल गर्दै जित हात पारेको हो।
जितपछि आर्सनल र पिएसजीको समिान १० अंक भएको छ भने समान १ अंक रहेको लुडोगोरेट्स र बासेल २ खेल अगावै समूह चरणबाट बाहिरिएको छ।
यता समूह डीमा एन्टोनीओ ग्रिजमन र रोवर्ट लेवान्डास्कीले उत्कृष्ट प्रदर्शन गरेपछि एथ्लेटिको र वायर्नले पनि जित हात पार्दै अन्तिम १६ को टिकट काटेको छ। एथ्लेटिकोले घरेलु मैदानमा रोस्तोभलाई २-१ ले हरायो। दुवै गोल ग्रिजमनले गरे। रोस्तोभका लागि सेरदार अजमोनले एक गोल गरे।
यस्तै लेवान्डास्कीले २ गोल गरेपछि एक गोलले पछि परेको स्थिती उल्टाउँदै वायर्नले पिएसभी आइन्डहोभनलाई २-१ ले नै हरायो। सान्टियागो अरियसले घरेलु मैदानमा गोल गर्दै पिएसभीलाई पहिले अग्रता दिलाए पनि लेवान्डास्कीले लगातार दुई गोल वायर्नलाई २-१ को जित दिलाए।
जितपछि एथ्लेटिको १२ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको वायर्नको ९ अंक छ। समान १ अंक रहेको पिएसभी र रोस्तोभ भने सम्रह चरणबाट बाहिरिएको छ।
समूह बी अन्तर्गत भएको खेलमा डाइनामो किभलाई १-० ले हराउँदैवेनफिकाले प्रिक्वाटरफाइनल यात्रा कायमै राखेको छ। घरेलु मैदानमा वेनफिकालाई जिताउन एडुवार्डो साल्भियोले पेनाल्टीमा निर्णायक गोल गरे। डाइनमोका जुनिएस मोराएस भने पेनाल्टीमा गोल गर्न चुके।
यसै समूहको अर्को खेलमा नेपोली र बेसिकटासले १-१ गोलको बराबरी खेलेका छन्। ७९ औं मिनेटमा रिकार्डो क्वरेस्माले गोल गर्दै घरेलु टोली बेसिकटासलाई पहिले अग्रता दिलाएपनि त्यसकौ ३ मिनेटपछि नै मारेक हमसिकले नेपोलीका लागि बराबरी गोल फर्काए।
बराबरीपछि ७ अंक जोडेको नेपोली शीर्ष स्थानमा छ। समान अंक भए पनि गोल अन्तरमा पछि परेको वेनफिका दोस्रो तथा ६ अंक रहेको बेसिकटास तेस्रो स्थानमा छ।