
एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा हुल लागेको एएफसी सोलिडारिटी कपको पहिलो संस्करण आजबाट मलेसियामा सुरु हुँदैछ।
कुल ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह ए मा छ। नेपाल रहेको समूहमा बु्रनाई दारुसेलम र टिमोर लेस्ट पनि रहेका छन्।
प्रतियोगिता अन्तर्गत आजै हुने उद्घाटन खेलमा ब्रुनाई र टिमोर लेस्टबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले भने पहिलो खेलमा आगामी शनिबार टिमोर लेस्टेसँग खेल्नेछ। नेपालले आगामी मंगलबार ब्रुनाईसँग समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ।
यस्तै समूह बी मा श्रीलंका, मकाउ, मंगोलिया र लाओस रहेका छन्। दुवै समूहबाट शीर्ष दुई स्थानमा रहेने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल नोभेम्वर १५ मा हुनेछ।
प्रतियोगिताका खेलहरु मलेसियाको कुचिङ स्थित नेगेरी स्टेडियम र सारावक स्टेडियममा हुनेछ।
फिफाको तल्लो वरीयतामा रहेका र लामो समय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता हुन नपाएका टोलीहरुलाई समेटेर एएफसीले सोलिडारिटी कपको आयोजना गरेको हो।
नेपाल रहेकै समूहमा रहे पनि दक्षिण एसियाली राष्ट्रद्वय पाकिस्तान र बंगलादेशले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।