PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

कारागारभित्र देखापर्‍यो छाला रोगको प्रकोप, कैदीबन्दी सकसमा



पहिलोपोस्ट

रत्ननगर (चितवन) : चितवनको भरतपुरस्थित जिल्ला कारागारमा छाला रोगको प्रकोप फैलिएको छ।
 
क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको भरतपुर कारागारमा दाद, छाला चिलाउने, विभिन्न बिबिरा आउने तथा एलर्जी देखिएको कारागारका चौकीदार अमृत गुरुङले जानकारी दिए।
 
कारागारमा रहेका झन्डै ६ सय कैदी र थुनुवामध्ये ५० प्रतिशतमा रोग देखिएको गुरुङको भनाइ छ। छाला रोगको प्रकोप नै फैलिएपछि कैदी र थुनुवाले उपचार गरी पाउँ भन्दै कारागार व्यवस्थापनलाई निवेदन समेत दिएका छन्।
 
कारागारभित्रै कैदीको रुपमा रहेका अहेव तथा मेडिकल नाइके ओदारी महतोले छालाको रोग देखिएको लामो समय भए पनि अहिले भने रोग बढेर गएको बताए।
 
कैद भुक्तान गरिहेका उनी कैदी र थुनुवालाई कारागारभित्रै उपचार गर्ने मेडिकल प्राविधिक हुन्। भित्रको औषधिले नभेटेकाले बाहिरबाट औषधि र चिकित्सक ल्याउनुपर्ने महतोको भनाइ छ।
 
कारागारमा छालाको रोग बढेको बताउँदै कारागार प्रमुख कमल काफ्लेले रोगको उपचारका लागि बाहिरबाट औषधि र चिकित्सक ल्याउने तयारी भएको बताए। यो वर्ष कैदी र थुनुवाको उपचारका लागि भनेर रु १० लाख रकम सरकारबाट आएको कारागारले जनाएको छ।
 
दुई सय ५० कैदीबन्दी राख्न मिल्ने क्षमताको कारागारमा अहिले झन्डै ६ सय पुगेका छन्। कारागारभित्र व्यक्तिगत सरसफाइको अभाव छ। बढी कोचिएर बस्नपर्ने बाध्यताले छालाको रोग बढेको हो।
 
अहिले नियमित उपचार गर्ने अन्य बिरामी क्यान्सरका ५ जना, टिबीका ५ जना, हेपाटाईटिसका २ जना तथा अधिकांश उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको कारागारले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell