
काठमाडौँ : बुधबार बेलुका सुर्खेतको आग्रीगाउँस्थित देउराली प्रहरी चौकी आक्रमण गरी हातहतियार समेत कब्जा गरिएको छ।
चौकी आक्रमण गर्ने र हातहतियार लुट्ने काम कुनै भूमिगत समूहले नभई स्थानीय बासिन्दाले नै गरेको खुलेको छ। करिब ३० जनाको सङ्ख्यामा घरेलु हतियारसहित आएका स्थानीय युवाले चौकीबाट तीन वटा राइफल, २०० थान गोली, चाइनिज पेस्तोल, हत्कडीसहित लुटेका हुन्।
उनीहरुले चौकी आक्रमण गर्नुको कारण भने सामान्य छ। क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपाल भन्छन्- रक्सीको विषयमा प्रहरी र स्थानीय केही युवासँग भएको विवादले नै चौकी आक्रमण भएको हो।
उनका अनुसार, एक प्रहरी जवान र युवाबीच सामान्य झगडा भएको थियो तर त्यसले विस्तारै उग्ररुप लिएर केही बेरमै स्थानीय जम्मा भएर प्रहरी चौकीमा आक्रमण गरेका हुन्।
लुटिएका हातहतियार प्रहरीले फेला पारिसकेको छ। लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको नेपालले जानकारी दिए।