
इंगलिस च्याम्पियन लेस्टर सिटी र स्पानिस क्लब युरोपियन च्याम्पियन्स लिगको नकआउट राउण्ड नजिक पुगेको छ। समूह जीको खेलमा एफसी कोवनहेगनसँग गोलरहित बराबरीमा रोकिनका बाबजुद पनि लेस्टर अंक तालिकामा शीर्ष स्थानमा छ।
४ खेलबाट अपराजित लेस्टरको १० अंक छ र अब समूहमा क्लब ब्रुग र एफसी पोर्टोसँग खेल्न बाँकी छ। अर्को खेलमा पोर्टोले ब्रुगलाई १-० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ।
जितपछि पोर्टाको ४ खेलबाट ७ अंक भएको छ। लेस्टरसँग बराबरी खेलेको कोवनहेगनको ५ अंक छ। अंकविहीन क्लब ब्रुग समूह चरणबाटै बाहिरिएको छ।
यस्तै सेभिया पनि डाइनामो जाग्रेबलाई ४-० ले पराजित गर्दै नकआउट नजिक पुगेको छ। जितपछि समूह एचमा अपराजित रहेको सेभियाको ४ खेलबाट १० अंक भएको छ। नकआउट चरण प्रवेश गर्न सेभियालाई मात्र १ अंकको आवश्यकता छ।
यसै समूहको अर्को खेलमा युभेन्ट्स लियोनसँग बराबरीमा रोकिएपछि सेभियाले नकआउट चरण पुग्न अर्को खेल कुर्नुपरेको हो।
युभेन्ट्स १ गोलको अग्रता लिएर पनि घरेलु मैदानमा लियोनसँग १-१ को बराबरीमा रोकियो। गोन्जालो हिग्वेनले १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए तर खेल सकिन ५ मिनेटअघि कोरेन्टिन टोलिसोले गोल गरेपछि खेल बराबरीमा सकिएको हो।
बराबरीका बाबजुद पनि युभेन्ट्सको ४ खेलबाट ८ अंक छ र नकआउट चरण पुग्न ३ अंक आवश्यक छ। यता लियोनको ४ खेलबाट ४ अंक नै छ भने नकआउट चरण पुग्न बाँकी दुवै खेल जित्नुपर्नेछ।
लेस्टर नकआउट चरण नजिकै पुग्दा अर्को इंगलिस क्लब टोटनहम भने जर्मन क्लब वायनर लेभरकुजनसँग १-० ले पराजित भएको छ। हारसँगै टोटनहम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। लेभरकुजनलाई साँघुरो जित दिलाउन केभिन काम्पलले निर्णायक गोल गरे।
हारपछि समूह ईमा टोटनहमको ४ खेलबाट ४ अंक मात्र छ। अर्को खेलमा मोनाकोले सिएसकेए मस्कोलाई ३-० ले हराउँदै समूहको शीर्ष स्थानमा उक्लेको छ। मोनाकोको जितमा राडेमेल फाल्काओले २ गोल गरे भने भालेरे जर्मेनले १ गोल गरे। जितपछि मोनाकोको ८ अंक भएको छ भने लेभरकुजनसको ६ अंक छ।