
'बेस्ट फिफा मेन्स कोच'का लागि १० प्रशिक्षकको नाम सार्वजनिक भएको छ। फिफा फुटबल कमिटीका विज्ञहरुले उत्कृष्ट पुरुष प्रशिक्षकको लागि १० जनाको अन्तिम नाम तयार गरेका छन्।
जसमा पोर्चुगललाई पहिलो पटक युरोकप जिताउनेदेखि लेस्टरलाई पहिलो पटक प्रिमियर लिग जिताउने र रियल मड्रिडलाई कीर्तिमानी ११ औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउने समेत छन्।
रियलको सिनियर टीम सम्हालेको पहिलो सिजनमै च्याम्पियन्स लिगको उपाधि दिलाएका जिनेदिन जिदान पहिलो सिजनमै बेष्ट कोचको नोमिनेसनमा परेका हुन्।
यस्तै रियलका ला लिगा प्रतिद्वन्दी क्लबहरु बार्सिलोना, एथ्लेटिको मड्रिडसँगै इंगलिस क्लब म्यानचेष्टर सिटी, लिभर र टोटनहमका प्रशिक्षक समेत नोमिनेसनमा परेका छन्।
अन्तिम १० को सूचीमा राष्ट्रिय टीमका जम्मा ३ प्रशिरुक्षक मात्र परेका छन् भने बाँकी ७ क्लबका छन्।
यस्तै सूचीमा परेकामध्ये समान २ प्रशिक्षक स्पेन, फ्रान्स र अर्जेन्टिनाका छन् भने वेल्स, जर्मनी, इटली र पोर्चुगलका १/१ छन्।
यी हुन् १० दाबेदार
- क्रिस कोलमन, वेल्स
- डिडियर डेसच्याम्पस्, फ्रान्स
- पेप गोर्डिओला, म्यानचेष्टर सिटी/स्पेन
- योर्गन क्लोप लिभरपुल, जर्मनी
- लुइस एनरिके बार्सिलोना, स्पेन
- माउरिसियो पोचटिनो, टोटनहम हट्सपर/अर्जेन्टिना
- क्लाउडिओ रानिएरी, लेस्टर सिटी/इटली
- फर्नान्डो सान्तोस, पोर्चुगल
- डिएगो सिमोनी एथ्लेटिको मड्रिड, अर्जेन्टिना
- जिनेदिन जिदान रियल मड्रिड, फ्रान्स
बेस्ट वुमन्स कोचको सूचीमा परेका १० प्रशिक्षक
- फिलिप्पे बर्गेरो, फ्रान्स
- जिल एलिस, अमेरिका
- जोन हर्डमन, क्यानडा
- शिल्भिया नेइड, जर्मनी
- भेरा पाव, दक्षिण अफ्रिका
- जेरार्ड प्रेचेउर, लियोन, फ्रान्स
- पिए सण्डहेज, स्वीडेन
- ओस्वालडो भाडाओ, ब्राजिल
- मार्टिना भोस टेकेलन वर्ग, स्वीडेन
- थोमस वर्ल, वायर्न म्युनिख, जर्मनी
यस्तै आज 'द बेस्ट फिफा वुमन्स प्लेअर २०१६' का लागि १० खेलाडीको सूची सार्वजनिक हुँदैछ भने 'द बेस्ट फिफा मेन्स प्लेअर २०१६' का लागि भोलि २३ खेलाडीको सूची सार्वजनिक गरिनेछ।
विश्व फुटबलको बेस्टहरुको घोषणा आगामी वर्षको जनवरी ९ मा स्विट्जरल्याण्डको ज्युरिखमा हुनेछ। जसमा यी ४ अवार्डसँगै 'द फिफा पुस्कास अवार्ड', 'द फिफा फेयर प्ले अवार्ड', 'द फिफा फ्यान अवार्ड' र 'फिफा प्रो वर्ल्ड ११' को अवार्ड पनि घोषणा गरिनेछ।
फिफा र फ्रान्स फुटबल म्यागाजिनले सन् २०१० देखि फिफा बालोन डेअर अवार्ड संयुक्त रुपमा प्रदान गर्दै आएको थियो तर यसै वर्ष फिफा र फ्रान्स फुटबलबीच सम्झौता समाप्त भएपछि दुवैले छुट्टै अवार्ड वितरण गर्न लागेका हुन्।
फ्रान्स फुटबल म्यागाजिनले यसअघि नै बालोन डेअरका लागि उत्कृष्ट ३० खेलाडीहरुको नाम सार्वजनिक गरिसकेको छ।