PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कराँचीमा दुई वटा रेल जुध्दा २१ जनाको मृत्यु, ४५ घाइते



पहिलोपोस्ट

कराँचीमा दुई वटा रेल जुध्दा २१ जनाको मृत्यु, ४५ घाइते

इस्लामावाद : पाकिस्तानको बन्दरगाह सहर कराँचीमा आज बिहान यात्रुवाहक दुई वटा रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ४५ जना घाइते भएका अस्पताल स्रोतले जानकारी दिएको छ।
 
कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवत्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिए।
 
मृतकमध्ये कम्तीमा २ जना बालबालिका र ३ जना महिला रहेका पनि प्रवक्ता जमालीको भनाइ छ।
 
क्वाडाफी रेलस्टेशनमा फ्यारिड एक्सप्रेस रोकिईरहेका बेला रेल लिकबाट उही गन्तव्यतर्फ आईरहेको जक्रिया एक्सप्रेस आएर ठक्कर खाएको पाकिस्तान रेलवेका उपप्रवन्धक नसिर अजिजले जानकारी दिए।
 
जक्रिया एक्सप्रेस रोक्न खोज्दा पनि नरोकिएकाले दुर्घटना भएको हो। दुवै रेल पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने पञ्जावबाट आइरहेका थिए।
 
रेलवे कार्यालयले घटनाका बारेमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिएको छ। दुर्घटना भएको धेरै समयपछिसम्म पनि उद्धारकर्ताहरुले रेलभित्र थिचिएकाहरुको उद्धार गरिरहेका थिए। घाइते मध्ये टाउको र घाँटीमा चोट लागेका केहीको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ।
 
पाकिस्तानी सेनाको इन्जीनियरिङ इकाइले रेलमार्ग खुलाउनका लागि रेलमार्गमै रहेका ती दुवै रेललाई हटाउने काम गरिरहेका छन्।
 
पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न अधिकारीहरुलाई निर्देशन दिएका  छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell